NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

टर्की भूकम्प : झण्डै आठ हजार जनाको मृत्यु

काठमाडाैं । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म सात हजार नौ सय जनाको मृत्यु भएको छ । हालसम्म टर्कीमा पाँच हजार आठ सय ९४ र सिरियामा दुई हजार ३२ जनाले ज्यान गुमाएका सरकारी अधिकारीहरूले बताएका छन् ।

प्रतिकूल मौसमको परबाह नगरी भत्किएका भवनका भग्नावशेषबाट बाँचेकाहरूलाई बाहिर निकाल्न उद्धारकर्ताहरू सङ्घर्ष गरिरहेका छन् । उद्धार तथा राहतको अनुगमन एवं समन्वय गरिरहेका संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले २० हजार मानिस हताहत भएका अनुमान गरेका छन् ।

उद्धार तथा राहतका काम प्रभावकारी ढङ्गले अघि बढाउन विश्वका विभिन्न मुलुकले सहयोगी टोली परिचालन गरेका छन् । टर्कीका विपद् व्यवस्थापन निकायका अधिकारीले २४ हजार चार सय कर्मचारी भूकम्प प्रभावित स्थानमा परिचालन भएका बताएका छन् । करिब छ हजार भवन भत्केकाले सबै स्थानमा सहायता परिचालन गर्न कठिन भएको छ । सोमबार र मङ्गलबार कठ्याङ्ग्रिने चिसो तथा बारम्बारको पराकम्पका कारण उद्धार तथा राहतका कामलाई द्रुत गतिमा सम्पादन गर्न हम्मेहम्मे परेको थियो ।

टर्कीका राष्ट्रपति तैयप एर्दोगानले अति प्रभावित दश प्रान्तमा सङ्कटकाल घोषणा गर्नुभएको छ । क्षतिग्रस्त टर्कीका सहरका बासिन्दा पर्याप्त सहायता प्राप्त नभएकामा निराश भएका छन् । उनीहरूले छानोबिना आफूहरू हिउँमा बस्नु परेको, आफ्ना आफन्त वेपत्ता भएका, उद्धारले अपेक्षित गति नलिएकामा दुःख व्यक्त गरेका छन् ।

सोमबारको ७.८ म्याग्निच्युडको भूकम्प, त्यसको केही घण्टापछि झण्डै त्यति नै शक्तिशाली दोस्रो पराकम्पले अस्पताल, विद्यालय र आवासीय भवनहरू ध्वस्त हुनाका साथै हजारौँ घाइते भएका छन् । उत्तरी सिरियामा पनि असङ्ख्य मानिस घरबारविहीन भएका छन् ।

क्षतिग्रस्त सडक, प्रतिकूल मौसम, स्रोतसाधन र भारी उपकरणको अभावले सबैभन्दा बढी प्रभावित क्षेत्रमा सहायता परिचालनमा विलम्ब भएको सुरक्षा अधिकारीहरूले स्वीकार गरेका छन् । उनीहरूले उपलव्ध स्रोत, साधनको अधिकतम उपयोग गर्दै यथाशक्य पीडितहरूमाझ पुग्ने प्रतिबद्धता जनाएका छन् । कतिपय क्षेत्रमा इन्धन र बिजुली नहुँदा जीवन अकल्पनीय कष्टकर भएको छ ।

मानवीय सहायता अधिकारीहरूले करिब १२ वर्षको गृहयुद्ध पछि मानवीय सङ्कटबाट पीडित सिरियाको अवस्थाप्रति  चिन्ता व्यक्त गरेका छन् । उनीहरूले बालबालिका र महिला अधिक प्रभावित भएका बताएका छन् । अन्तर्राष्ट्रिय समुदायले प्रदान गरेका सहायता सामग्री टर्कीए पुग्न थालेका छन् । टर्कीएलाई अहिले नगदको आवश्यकता परेको अन्तर्राष्ट्रिय सहायता निकायले बताएका छन् । अमेरिकी खोज तथा उद्धार टोली आज टर्कीए आउने भएको छ ।

युरोपेली सङ्घ, सङ्घमा आबद्ध १३ देशले राहत सामग्रीसहितको  उद्धार टोली परिचालन गरेका छन् । मंगबार टर्कीए र सिरियाका भूकम्पपीडितका लागि चीन, भारत, जापान, फिलिपिन्स, अष्ट्रेलिया, न्युजिल्याण्लगायत मुलुकले आर्थिक एवम् भौतिक सहयोगको घोषणा गरेका थिए ।