माओवादी पदाधिकारी : २२ मध्ये २१ जना पुरूष, महिलामा भुसाल मात्र
काठमाडौं । महाधिवेशन भएको १३ महिनापछि नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिले पूर्णता पाएको छ । माघ १२–२१ गते सम्म बसेको माओवादीको स्थायी समिति बैठकले नेताहरूको वरीयता निर्धारणसहित केन्द्रीय समितिलाई पूर्णता दिएको सचिव गणेश साहले जानकारी दिए ।
साहका अनुसार २२ सदस्यीय पदाधिकारी, ४४ सदस्यीय स्थायी समिति तथा ३८६ सदस्यीय केन्द्रीय समितिले पूर्णता पाएको हो । यसैगरी वैकल्पिक केन्द्रीय समिति २०२ सदस्य बनाइएको छ ।
२२ जना पदाधिकारी रहेको माओवादी केन्द्रमा महिलाको प्रतिनिधित्व जम्मा एक जाना रहेका छन् । पुरूष २१ जना छन् । तीमध्ये खसआर्यको प्रतिनिधित्व १६ जना रहेका छन् । जनजातिबाट ४ जना र मधेशीबाट २ जनाको प्रतिनिधित्व रहेको छ । दलित समुदायबाट कुनै पनि पदाधिकारी बन्न सकेका छैनन् ।
बैठकले पूर्वसभामुख अग्नि सापकोटा र पम्फा भुसाललाई उपाध्यक्षमा मनोनीत पनि गरेको छ । यसअघि उपमहासचिव रहेकी भुसाल उपाध्यक्षमा बढुवा भएकी हुन् । पहिलेकै वरीयतालाई यसपटक पनि निरन्तरता दिएको साहले बताए । अध्यक्षमा पुष्पकमल दाहाल र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ रहेका छन् । उपाध्यक्षमा कृष्णबहादुर महरा, सापकोटा र भुसाल रहेका छन् । महासचिवमा देवप्रसाद गुरुङ छन् ।
यसैगरी ६ जना उपमहासचिवमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र मात्रिका यादव रहेका छन् ।त्यस्तै ९ जना सचिवमा दीनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लिलामणि पौडेल, गणेश साह र हितमान शाक्य रहेका छन् । यसैगरी हितराज पाण्डे, डिलराज आचार्य र सुरेन्द्र कार्की सचिव भएका छन् । कोषाध्यक्षमा श्रीराम ढकाल रहेका छन् । माओवादीको आठौं महाधिवेशन गतवर्ष ११–१८ सम्म काठमाडौंमा भएको थियो ।
त्यस्तै बैठकले मातहतका समितिलाई १३ बुँदे सर्कुलर जारी गर्दै पार्टी एकताका लागि विचार मिल्ने वामपन्थी शक्तिसँग वार्ता र छलफल गर्ने देखि संगठन विस्तारको अभियान चलाउने सम्मका निर्णय लिएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया