बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकार संकटमा परेपछि बिहीबार उक्त संकट टार्ने हेतुले संयन्त्रको बैठक आह्वान गरिएकोमा अन्तिममा स्थगित भएको थियो ।
जारी बैठकमा सुदूरपश्चिम प्रदेश सरकार ढल्नुको समीक्षा र राष्ट्रपति निर्वाचनबारे छलफल हुने बताइएको छ ।
सुदूरपश्चिम प्रदेश सरकार निर्माणमा निर्णायक भूमिका खेलेको नागरिक उत्थान पार्टीले साथ छाडेपछि बिहीबार विश्वासको मत नपाएर एमाले नेतृत्वको त्यहाँको सरकार ढलेको थियो । प्रधानमन्त्री प्रचण्डले अग्रसरता नलिँदा त्यहाँ आफू नेतृत्वको सरकार ढल्न पुगेको एमाले विश्लेषण छ ।
आगामी फागुन २५ का लागि तय राष्ट्रपति निर्वाचनमा पनि सत्तासाझेदार दलबीच सहमति बन्न सकेको छैन । एमालेले पूर्वसहमतिअनुसार राष्ट्रपतिमा आफ्नो उम्मेदवारलाई समर्थन गर्नुपर्ने तर्क गर्दै आएको छ भने माओवादी सरकार गठन गर्दाको पूर्वसहमतिबाट पछाडि फर्किएको छ । राष्ट्रिय सहमतिमा राष्ट्रपतिको साझा उम्मेदवार खडा गर्नुपर्ने माओवादीको मत छ । यसले सत्तासाझेदार दलबीच अविश्वास बढाएको छ ।अहिले जारी बैठकमा यिनै विषयबारे छलफल भइरहेको बताइएको छ ।
प्रचण्ड नेतृत्वमा सरकार गठन गरेपछि त्यसलाई सहयोग गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरिएको थियो । यसको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् ।
प्रतिक्रिया