NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

राष्ट्रपति निर्वाचनमा समीकरण बदल्ने रणनीति

काठमाडौं । सत्ता साझेदार दलहरूका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सकिएको केही घन्टापछि शुक्रबार राति कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्न बालुवाटार पसे । राति १० बजेतिर बालुवाटार गएका देउवा करिब एक घन्टा प्रधानमन्त्री प्रचण्डसँग पछिल्ला राजनीतिक घटनाक्रम र भावी राष्ट्रपतिको निर्वाचनका विषयमा छलफल गरेर बाहिरिएका थिए ।

प्रचण्ड र देउवाबीचको भेटवार्ता र विषयवस्तुबारे दुवै नेताका सचिवालयबाट औपचारिक रूपमा केही सार्वजनिक भएको छैन । प्रचण्ड प्रधानमन्त्री भएपछि देउवाले बालुवाटारमा पुगेर उनीसँगै एक्लै भेट गरेका हुन् । यसअघि देउवा प्रधानमन्त्री प्रचण्डले सरकारलाई विश्वासको मत दिने राजनीतिक दलहरूको ३ माघमा बोलाएको सर्वदलीय बैठकमा सहभागी हुन बालुवाटार पसेका थिए ।

सुदूरपश्चिममा विश्वासको मत नपाएर एमाले नेतृत्वको सरकार विघटन भएलगत्तै बिहीबार नै कांग्रेस नेतृत्वको सरकार गठन भएको छ । सरकारमा एकीकृत समाजवादी सहभागी भइसकेको छ । आफ्नो गृहप्रदेशबाट सत्तामा फर्कने ढोका खोलेपछि देउवा र एमालेसँग प्रतिशोध साँध्न पाएकोमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल मख्ख छन् । शुक्रबार बिहान देउवा र नेपालबीच पनि भेट भएको थियो ।

पछिल्ला राजनीतिक घटनाक्रम र भेटघाटले कांग्रेस र एकीकृत समाजवादी उत्साही देखिएका छन् । रास्वपाको ४२ दिनमै सरकारबाट बहिर्गगमन, सुदूरपश्चिममा गठबन्धनको सरकार विघटन, राष्ट्रपति मुद्दामा माओवादी–एमाले तनाव, प्रधानमन्त्रीसँगै अन्य साझेदार दलहरू असन्तुष्ट, विपक्षी नेताहरूसँग प्रधानमन्त्रीको निरन्तर संवाद र संवैधानिक पदहरूमा राष्ट्रिय सहमति खोज्ने प्रधानमन्त्रीको प्रस्ताव कांग्रेस र एकीकृत समाजवादीलाई उत्साही बनाउने कारण बनेका छन् ।

कांग्रेस र एकीकृत समाजवादीका शीर्ष नेता सुदूरपश्चिमबाट गठबन्धनमा गडबड सुरु भएको र यसले समग्र राष्ट्रिय राजनीतिमै हेरफेर हुने विश्वासमा छन् । शुक्रबार राजधानीमा भएको एक कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति निर्वाचनमा समीकरण बदलिन सक्ने संकेत गरे ।

‘सुदूरपश्चिमको सरकार ढल्यो । नयाँ सरकार बन्यो । नयाँ सरकारमा को–को छन्, कांग्रेस र एकीकृत समाजवादी । यो पार्टीको केही अर्थ छैन, खत्तम छ यसको भविष्य भनेको होइन ? कहाँ उदायो यो पार्टी ? कहाँ देखियो यो पार्टी ? ठूलो धक्का एमाले पार्टीलाई परेको छ । त्यो सुरुवातजस्तो देखिन्छ,’ नेपालले भने, ‘सुदूरपश्चिम सरकार ढाल्न मैले नै कांग्रेससँग कुरा गरेको हो, अरूसँग पनि कुरा भएको थियो ।’

राष्ट्रिय राजनीतिमा एकीकृत समाजवादीको भूमिका कायम रहेको दाबी गर्दै नेपालले राष्ट्रपति निर्वाचनसम्म राजनीतिमा आउन सक्ने फेरबदलबारे संकेत गरे । ‘अहिले राष्ट्रपतिको चर्चा छ । हामी नयाँ परिस्थितिमा पुग्दै छौँ । प्रत्येक व्यक्ति म राष्ट्रपति हुने भएँ भनेर दंग परेका छन् । किनभने, दंग पारिएको छ । सबैलाई राष्ट्रपति पद दिएको छ, भइहालेँ भन्ने परिरहेको छ । को–को सेन्टिफ्ल्याट खाने हो थाहा छैन । नेपालको राजनीति यही ढंगले अगाडि बढिरहेको छ । मैले संकेत मात्रै गरेको हुँ, धेरै कुरा नभनौँ,’ राष्ट्रिय जनसांस्कृतिक महासंघ (समाजवादी)को चौथो पूर्ण बैठकलाई सम्बोधन गर्दै नेपालले भने ।

उता कांग्रेस नेताहरूले सुदूरपश्चिममा सरकारले विश्वासको मत नपाउनुले सत्तागठबन्धनको आयु लामो नभएको संकेत दिएको बताइसकेका छन् । सुदूरपश्चिममा सत्तागठबन्धनको बहुमत हुँदाहुँदै पनि सरकारले विश्वासको मत नपाएपछि गठबन्धनमा समस्या आएको बुझाइसहित कांग्रेस नेता उत्साही छन् । सुदूरपश्चिमको परिदृश्यले गठबन्धनमा समस्या उजागर गरेको र यसको असर राष्ट्रिय राजनीतिमा समेत पर्ने कांग्रेस नेताहरूको दाबी छ ।

कांग्रेस र एकीकृत समाजवादी तत्कालीन पाँचदलीय गठबन्धन ब्युँताउने प्रयासमा छन् । कांग्रेस सहमहामन्त्री फर्मुल्लाह मन्सुर पछिल्लो राजनीतिक घटनाक्रमबाट कोर्स करेक्सनको सम्भावना बढेको बताउँछन् । ‘उत्साहित र निरुत्साहित हुनुपर्ने कारण छैन । गठबन्धनको समस्या हामीलाई मतलबको विषय पनि होइन । अहिलेको अवस्थामा ओलीले सरकार टिकाउँदैनन् र अस्थिर राजनीतिक अवस्था रहन्छ भन्ने हाम्रो विश्लेषण छ । त्यहीअनुसार हामी अगाडि बढ्छौँ । कोर्स करेक्सनको सम्भावना बढ्दै गएको छ ।’

कांग्रेस र एकीकृत समाजवादीलाई प्रधानमन्त्री प्रचण्डका अभिव्यक्तिले पनि उत्साह थपेको छ । प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्ड केही समययता राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने दौडधुपमा छन् । उनले शुक्रबार पनि माओवादी नेतृत्वले मात्रै राष्ट्रिय सहमति कायम गर्न सक्ने बताए । संवैधानिक पदहरूमा राष्ट्रिय सहमति खोज्ने प्रस्ताव सारेका प्रचण्डले नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय समिति बैठकलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै राष्ट्रपति निर्वाचनमा आफ्नो प्रयत्न यसैमा रहने जनाउ दिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।