बालुवाटारमा उच्चस्तरीय संयन्त्रको बैठक : के-के भयो निर्णय ?

काठमाडौं । सत्ता संकट चुलिँदै जाँदा वर्तमान गठबन्धनलाई नै बलियो बनाएर जानेबारे गठबन्धन दलहरूबीच सहमति भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीति समितिको बैठकमा गठबन्धनलाई थप बलियो बनाएर जानेबारे सहमति भएको उर्जामन्त्रीसमेत रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।
‘गठबन्धनबारे बाहिर भ्रम सिर्जना गर्न खोजिएको छ । यसमा सत्ता साझेदार दलहरू सबै सजग रहेका छन् । राष्ट्रपतिको विषयलाई लिएर दलहरूबीच कुनै विवाद छैन’, बैठकपछि सञ्चारकर्मीलाई जवाफ दिँदै लिङ्देनले भने, ‘वर्तमान गठबन्धनलाई बलियो बनाएर सरकारको काम कारवाहीलाई झन प्रभावकारी बनाउने सहमति भएको छ ।’
यसैगरी सरकाराबाट बाहिरिएको दल रास्वापलाई पनि पुनः सरकारमा ल्याउन छलफल भइरहेको उनले बताए । रास्वपालाई सरकारमा ल्याउन केही प्रविधिक समस्या रहेको भन्दै मन्त्री लिङ्देनले उपयुक्त समयमा रास्वपा सरकारमा आउने जिकिर गरे ।
‘रास्वपालाई पुनः सरकारमा ल्याउने बारेमा छलफल भइराखेको छ,’ उनले भने, ‘यस विषयमा बैठकमा कुराकानी भयो। उपयुक्त समयमा रास्वपा सरकारमा आउन पनि सक्छ। त्यसका बारेमा केही प्राविधिक समस्या पनि छन्, छलफल भइराखेको छ।’
संयन्त्रको बैठकमा प्रधानमन्त्रीसहित एमालेका अध्यक्ष केपी ओली, रास्वपा सभापति रवि लामिछाने र राप्रपा अध्यक्षपनि सहभागी थिए। बैठकमा जसपा, जपा र नाउपाका अध्यक्ष भने सहभागी भएनन् ।
गत शुक्रबार बसेको संयन्त्रको बैठकमा राष्ट्रपति एमाले र गृहमा रास्वपालाई दिनेबारे ओली, लामिछाने र लिङ्देन एक ठाउँमा उभिएका थिए ।प्रधानमन्त्री प्रचण्ड सहमतिमा राष्ट्रपति बनाउनुपर्ने बताएका थिए ।
प्रतिक्रिया