NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

चितवन–२ को उम्मेदवार मै हुँ, गठबन्धन नगरी लड्छु, राहदानीले कुनै असर गर्दैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ मा आगामी १० वैशाखमा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट आफूले उम्मेदवारी दिने बताएका छन् ।

गत मंसिर ४ मा उक्त क्षेत्रबाट अत्यधिक मतान्तरसहित विजयी लामिछाने नेपाली नागरिक नरहेको अदालतको फैसलासँगै पद खारेजी भएपछि त्यहाँ पुनः निर्वाचन हुन लागेको हो ।

अदालतको आदेशपछि नागरिकता पुनप्र्राप्ति गरेका लामिछानेले चितवनको मतदाताले दिएको जिम्मेवारी पूरा गर्न पनि आफूले उम्मेदवारी दिने बताए ।

अनिर्वाचनमा गठबन्धन गर्ने पक्षमा आफू नरहेको पनि उनले स्पष्ट पारेका छन् । निर्वाचन अरूको सहयोगमा भन्दा आफ्नै बुतामा लड्नुपर्ने उनको भनाइ छ । तर अरूले स्वतःस्फूर्त सघाएको अवस्थामा भने त्यसलाई स्वीकार गर्ने उनले बताए ।

दोहोरो राहदानी छानबिनले आफ्नो उम्मेदवारीमा कुनै असर नगर्ने पनि उनले स्पष्ट पारेका छन् । अनुसन्धान प्रारम्भिक चरणमा रहेकाले त्यसको असर धेरै नपर्ने उनको भनाइ छ ।

निर्वाचनपूर्व नै जित्छु भनेर ठोकुवा गर्न उपयुक्त नहुने भए पनि आफ्नो जितका प्रशस्त आधार रहेको उनले सुनाए ।