NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

हिन्दूराष्ट्र स्थापना र संघीयता खारेज गर्न पार्टी खोल्दै माओवादी कमाण्डर

काठमाडौं । जनतालाई अधिकारसम्पन्न गराउने भन्दै १० वर्षे प्रत्यक्ष जनयुद्धमा सहभागी एक माओवादी कमाण्डरले वैदिक हिन्दूराष्ट्र स्थापना र संघीयता खारेजीलाई मूल मुद्दा बनाएर दल दर्ताको तयारी अघि बढाएका छन् ।

माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) को उपत्यकाका पूर्वइञ्चार्ज चन्द्रबहादुर थापा ‘सागर’ले आफू स्वयं संलग्न जनयुद्धको भावनाविपरीत नयाँ दल गठन गर्न लागेका हुन् ।

थापा तिनै व्यक्ति हुन् जसले वाइसिएल उपत्यका इञ्चार्जका रूपमा ‘क्राइम कन्ट्रोल’जस्ता अर्ध फौजी अपरेसन चलाएर माओवादीका उच्च तहका नेतालाई समेत ओझेल पारेका थिए । ०६४ मा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा आफ्नै राजनीतिक गुरु गोकर्ण विष्टलाई हराएपछि भने उनी राजनीति परिदृश्यबाट हराए । उनै सागरले राष्ट्रवादी केन्द्र, नेपाल नामक नयाँ राजनीतिक दल गठन गर्ने तयारी गरेका हुन् ।

अध्यात्मवाद र भौतिकवादको संयोजनसहितको विचार बोकेको पार्टी गठन गर्न आफूले प्रक्रिया अघि बढाएको थापाले नेपालवाचलाई बताए । उनका अनुसार, वैदिक सनातन हिन्दू राष्ट्र, प्रदेश खारेजी उनको पार्टीको मूल एजेण्डा रहनेछन् ।

त्यसैगरी, राष्ट्रिय पुँजी लगानीको सुरक्षा, नागरिकलाई निःशुल्क शिक्षा–स्वास्थ्य र रोजगारीको ग्यारेन्टीलाई पनि आफ्नो पार्टीले जोडदार रूपमा उठाउने उनले जानकारी दिए ।

परम्परागत राजनीतिक एजेण्डा बोके पनि पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा विश्वास गर्ने उनले जानकारी दिए ।

अहिलेका दलको दिशा र तिनले बोकेका राजनीतिक एजेण्डाले देशको हित नहुने भएकाले आफूले नयाँ अवधारणासहितको दल गठन गर्न लागेको उनले बताए ।

थापाको दलमा केही राजावादीसमेत सहभागी हुन लागेको बताइन्छ । थापाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेण्डा स्वीकार गर्ने सबैलाई आफ्नो पार्टीले स्वागत गर्ने बताए ।

‘हाम्रा मूलभूत पाँच एजेण्डा छन् । यसलाई स्वीकार गर्ने सबैलाई हाम्रो पार्टीमा स्वागत छ । यसबाहेककालाई भने ‘नो इन्ट्री,’ उनले भने ।