NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० फागुन ११ गते
अनुभूति

जनयुद्धका गायकको पश्चाताप- गीत गाएर मर्न र मार्न किन उक्साएँ हुँला !

काठमाडौं । चौतर्फी हमला बढाएको तत्कालीन माओवादीले १४ माघ, ०६२ मा भोजपुर आक्रमण गर्ने गुप्त योजना बनाइसकेको थियो । वर्षमान पुन ‘अनन्त’ र मणि थापा त्यसको तयारी गर्दै थिए । तर त्यसपूर्व गरिएको एउटा आक्रमणमा माओवादीले नसोचेको क्षति बेहोर्यो ।

हारमा निराश र जितमा उत्साहित हुनु मानवीय स्वभाव नै हो । जतिसुकै स्पातले बनेको भनिए पनि माओवादी जनसेना यसबाट किन मुक्त हुनसक्थे र ? यो पराजयबाट निकै निराश र हताश थिए । अनन्त र थापा आफ्ना सेनाको गिरेको मनोबल उकास्न अनेक उपाय लगाइरहेका थिए । किन र कसका लागि लड्ने भनेर प्रशिक्षित गरिरहेका थिए । तर छोए पो । उल्टो सैनिकभित्र अन्तरविरोध उत्पन्न भयो । संयोगले त्यही रहेका तत्कालीन जनवादी गायक प्रदीप देवानले नेतासँग मध्यस्थता गरेर अन्तरविरोध हल गर्न प्रयास गरे । तैपनि, स्थिति बीसको उन्नाईस भएन ।

‘म परिस्थितिले कुनै खराब मोड नलिओस् भन्ने हेतुले नेताहरूसँग कुराकानी गरिरहेको थिएँ । तर अवस्थामा कुनै सुधार आएन,’ उनले विगतको त्यो घटना सम्झँदै भने ।

वरिपरि लहरै जनसेना बसेका थिए । तर तिनका मन भने मिलेका थिएनन्, फाटेका थिए । जुनसुकै बेला कुनै अप्रिय घटना हुनसक्ने भयले स्वयं नेताहरू भयक्रान्त थिए । यत्तिकैमा देवानले साथमा रहेको गितार निकाले र गुनगुनाए– अरुण तरेर नाना तमोर तरेर, आयौं हामी वीरताको गाथा कोरेर…।’

केही समयअघिसम्म हारेका र आफ्नै सहर्मीमाथि जाइलाग्ने तहमा पुग्न लागेका जनसेना गीत सकिँदासम्म लडाइँमा होमिएर मर्न र मारिन तयार भइसकेका थिए । पछि भोजपुरको त्यो युद्ध माओवादीले जितेको थियो, त्यो पनि कम क्षतिमा ।

माओवादी सशस्त्र संघर्ष (जनयुद्ध ?) मा उत्पीडनबाट पिल्छिएका जनता जागृत गर्न र थाकेका, मन फाटेका नेता तथा जनसेनालाई ट्रयाकमा ल्याउन जनवादी कलाकारहरूको ठूलो योगदान छ । देवान त्यसमध्येका एक सांस्कृतिक सिपाही हुन् । आफ्ना कलामार्फत उनले कैयनलाई युद्धमा होमे, भाँचिएका मनहरू जोडे । सुदूर अतीतका भए पनि यी भोगाइ सम्झनाको मानसपटलमा ताजै छन् ।

तर उनलाई हिजो आफू हिँडेको बाटो सही भए पनि विगततर्फ फर्कंन खासै मन लाग्दैन । पश्चातापको ग्लानिले थिच्छ । किन नेताको स्वार्थ पूरा गर्न भर्याङ बनेछु भनेर चिमोट्छ ।

‘हामीले जनयुद्ध देश र जनताको मुक्तिका लागि लडेका थियौं । त्यो बाटो सही नै थियो । तर यसको उपलब्धिलाई नेताको हितमा प्रयोग गरियो । त्यसैले गीत–संगीतमार्फत मानिसलाई मर्न र मार्न उकासेकोमा पश्चाताप छ,’ देवानले आफ्नो असन्तुष्टिको तूष पोख्दै भने ।

यही पश्चाताप र असन्तोष देवानमा कति गढेको छ भने हिजो जनवादी शब्दमा स्वर र संगीत भर्ने उनी कम्युनिस्टले अफिम मानेका धर्मको प्रचार गर्ने भजन गायनमा व्यस्त छन्, पछिल्ला केही वर्षदेखि ।

एउटा जनवादी गायनमा आएको यो बदलाबसँगै उनले आफ्नो गायन यात्रा र भोगाइ आफ्नै शब्दमा यसरी सुनाए :

संगीतप्रतिको भोक र सिकाइ

नेपालीहरू रोजागारीका लागि मुग्लान जाने प्रचलन पुरानै हो । मेरो बुबा–आमा पनि रोजगारीका धुनमा भारतको कालिम्पोङस्थित एक गाउँमा पुग्नुभएको थियो । त्यहीँ मेरो जन्म भयो ।

पढाइमा म औसत थिएँ । तर, गीत–संगीतमा सानैदेखि रुचि थियो । कालिम्पोङ भारत भए पनि नेपाली भाषा नै बोलिन्थ्यो, गाइन्थ्यो । नेपाली गीत संगीत सुनेकाले मलाई सानैदेखि यसतर्फ झुकाव थियो । विस्तारै विद्यालयमा हुने कार्यक्रममा मैले गीत गाउन थालेँ । मलाई अहिले पनि सम्झना छ, हरेक शुक्रबार हुने कार्यक्रममा प्रथम हुने म नै हुन्थेँ । त्यतिबेला म रेडियो नेपाल खुब सुन्थेँ । रेडियोले मलाई यतिधेरै मोहित पा¥यो कि म कालिम्पोङबाट काठमाडौं डोहोरिएँ । ०३८ सालमा काठमाडौं आएदेखि यतै छु ।

सुरुमा मैले अम्बर गुरुङसँग संगीत सिकेँ । गीतारचाहिँ खिचापोखरीमा रहेको हार्मोनियम माइलाकोमा सिकेको हुँ । यही सिकाइले मलाई ०४२–४३ सालमा रेडियो नेपाल प्रवेश गरायो । त्यहाँ मैले गिटारिस्ट भएर काम गरेँ । ०४५ मा भ्वाइस टेस्ट पास भएपछि मेरो गायन यात्रा पनि सुरु भयो । ‘सल्किएको सलाइ झैं छोटो जिन्दगानी…’ मेरो पहिलो गीत हो । त्यसपछि अरु–अरु गीतहरू पनि गाउन थालेँ । ‘अरुण तरेर नाना तमोर तरेर…’ चाहिँ ०६० सालमा जन्मिएको हो ।

अनि छाडेँ रेडियोको जागिर

रेडियो नेपालको मेरो जागिर अस्थायी थियो । अरू साथीहरू पछि स्थायी हुनुभयो । म पनि निरन्तर हुन्थेँ भने स्थायी हुन्थेँ हुँला । तर ३ वर्षजति काम गरेपछि ०४५ सालमा त्यससँगको आबद्धता त्यागिदिएँ ।

देशको स्वास्थ्य राजनीतिले बिग्रँदै थियो । ०४६ सालको जनआन्दोलनले यसमा केही सुधार ल्याउने अपेक्षा थियो, तर त्यसले पनि आशालाई निराशामा बदलिदियो । भ्रष्टाचार, वेथिति, गुण्डागर्दी थप मौलायो । यही क्रममा ०५२ सालमा माओवादीले राज्यका तमाम वेथितिविरुद्ध लड्ने उद्घोष गर्दै जनयुद्ध सुरु ग¥यो । मलाई लाग्यो– अब यसमै जोडिएर सबल राष्ट्र निर्माणमा किन नलाग्ने ? त्यसपछि विभिन्न कमिटीहरूमा जोडिँदै, जनता र युद्धका गीत गाएँ ।

भोजपुरको त्यो सम्झना

ठ्याक्कै कति जनवादी गीत गाएँ, गनेको त छैन । त्यस्तै, २ दर्जन हाराहारी होलान् । जनवादी गायन यात्राका कैयन अविष्मरणीय यादहरू अहिले पनि ताजै छन् । त्यसमध्ये एक भोजपुर आक्रमणभन्दा अगाडिको घटना मेरो मनमा अहिले पनि गढेर बसेको छ । युद्धमा हाम्रा कैयन कमान्डरहरू मारिएका थिए । बाँचेकाहरूको मनोबल यसले निकै गिराएको थियो । उनीहरू निकै हतास र भयभीत थिए ।

हाम्रा कमान्डर मणि थापा र अनन्त हुनुहुन्थ्यो । तर आफैंभित्र निकै अन्तरविरोध उत्पन्न भएको थियो । आफू–आफू भिड्ने स्थिति बनेको थियो । मैले तीनवटै नेतालाई भेटेर अन्तरविरोध हल गर्न अनुरोध गरिरहेको थिए । तैपनि, स्थिति काबुमा आउन सकिएको थिएन । फागुन महिना हुनुपर्छ, वर्ष ठ्याक्कै याद भएन । मैले गीतार निकालेर गाउन थालेँ– अरुण तरेर नाना तमोर तरेर, आयौं हामी वीरताको गाथा कोरेर…।’

केही समयअघिसम्म हारेका र आफ्नै साथीहरूमाथि जाइलाग्न कस्सिएका साथीहरू यही गीतको प्रभावले ठीक ठाउँमा आउनुभयो । अझ भनौं, उहाँहरू सम्हालिनुभयो । यति मात्रै होइन, लडाइँमा होमिन राजी हुनुभयो । परिणामतः हामीले भोजपुर पनि जित्यौं । यस्ता संस्मरण, स्मरण मेरा मानसपटलमा दर्जनौं छन् ।

जनयुद्धप्रतिको मोह भंग र कारण

मानवीय स्वभाव के हुन्छ भने उसले अरूको गल्ती देख्छ, तर आफ्नो देख्दैन । ममा पनि कमजोरी छ । छैन भन्दिनँ । तर, म यो युद्धका कमान्डरहरूले गन्तव्यमा पु¥याउनेमा त्यतिबेला विश्वस्त थिएँ । मलाई यिनले यसरी गद्दारी गर्लान् भन्ने किञ्चित लागेको थिएन । तर, भइदियो नसोचेको । यिनले क्रान्ति र समृद्धिको गाडी त्रिशूलीमा लगेर खसाइदिए । यो परिस्थिति आउँछ भनेर भविष्यवाणी गर्न नसक्नु, दूरदृष्टि नहुनु मेरो कमजोरी हो ।

एउटा गायकले जनवादी, पप, आधुनिक, भजन सबै गीत गाउँछ । जुन गीत गाए पनि समग्रमा ऊ एउटा कलाकार हो । त्यसैगरी म पनि एउटा कलाकार हुँ ।

यसो भनिरहँदा के कुरा छुटाउनु हुँदैन भने जनवादसँग मेरो नसा–नसा गाँसिएको छ । जनवाद भनेको आमजनताले खान, लाउन पाउने समृद्धि हो । त्यसैले यसबाट बाहिर हुने कुरै भएन ।

क्रान्तिमा मसँगै होमिनु भएका कैयन साथीहरू शहीद हुनुभयो । कति घाइते अवस्थामा हुनुहुन्छ । घाइते साथीहरूको अवस्था अहिले पनि दयनीय छ । तपाईं देखिरहनु भएको छ, विगतका ती वलिदानहरूमा नेताहरूले इमान्दारिता देखाएका छैनन्, गद्दारी गरेका छन् । धोका दिएका छन् । त्यसैले तत्काल जनवादी गीत नगाउने निचोडमा म पुगेको हुँ ।

यसको मतलब मैले जनवादी गायन छाडेँ भन्ने होइन । जनवादी गायन छाड्नु भनेको समाजबाट कट्नु हो । जुन म चाहन्नँ ।

‘रियलाइजेसन’ र नेतासँगको गुनासो

माक्र्सवादी दर्शनले धर्म र जनवादलाई परस्पर विरोधी भनेको छैन । माक्र्सले पनि कहिल्यै भगवानविरुद्ध बोल्नु भएको छैन । कुरा मात्रै के हो भने, माक्र्सको पालामा धर्मका नाममा शासकहरूले राज्य गरिरहेका थिए । नेपालमै पनि राजा विष्णुका अवतार हुन् भन्ने भ्रम थियो । यो उतैबाट आयातीत स्लोगन हो । युरोपमा धर्मका नाममा ज्यादति भएकाले माक्र्सले त्यसको मात्रै विरोध गर्नुभएको हो, भगवान् र धर्मको होइन ।

माओ भन्नुहुन्थ्यो– सामन्तीको बन्दुक खोसेर सामन्तीलाई नै ठोक्नुपर्छ । माओको यो मान्यतालाई गैरकम्युनिस्ट तथा पुँजीवादीहरूले अतिरञ्जित गरेर भगवान नै मान्दैनन् भन्ने दुष्प्रचार गरिदिए । कम्युनिस्ट स्कुलिङमै हुर्केका केही नेता पनि उस्तै भ्रमात्मक प्रचार गर्न रमाए/रमाइरहेका छन् ।

१७ हजार गरीब नेपाली बाबुआमाका छोराछोरी जनयुद्धका क्रममा मारिए । तर, त्यसको लाभ भने २–४ जना नेताले मात्रै पाएका छन् । ती अपराधी हुन् । यिनै अपराधी नेताहरूले हामीलाई गलत स्कुलिङ गरेर भिडाएका रहेछन् । भगवानमा आस्था राख्दा मान्छेमा दया, माया, करुणा जाग्छ भनेर क्रूर बनाउन यिनले गलत स्कुलिङ गरेका रहेछन् ।

म सानो छँदा मेरो घरमा पूजाआजा हुन्थ्यो । त्यो मेरो संस्कार र पहिचान थियो । । त्यही संस्कार र संस्कृतिलाई मैले आज पछ्याएको हुँ । यसक्रममा मैले केही भजन रेकर्ड गरेको छु । मैले गाएका भजनबारे राम्रा प्रतिक्रिया आइरहेका छन् । भजन गाउन अहिले मलाई भ्याइनभ्याइ छ । जसरी मैले गाउने जनवादी गीतबाट मानिसहरू उत्साहित हुनुहुन्थ्यो, यसबाट पनि भइरहनु भएको छ । आखिर भजनकीर्तन सुन्ने पनि जनता नै त हुन् नि ?

विगतमा मेरै गीतहरू सुनेर धेरै जनयुद्धमा मर्न तथा मार्न तयार भए । अहिले सम्झँदा अत्यास लाग्छ । धन्न, मेरो भौतिक शरीरचाहिँ बाँचेछ । म र मजस्ता अन्य कार्यकर्ताले गल्ती गरेका थिएनौं तर अपराधी नेताहरूले हामीलाई प्रयोग गरेका थिए । कस्ता गलत मानिसहरू नेपाल र यो धर्तीमा जन्मिएछन् भनेर समीक्षा गरिरहेछु ।

त्यसो त, विगतमा मैले हिँडेको बाटो गलत भने थिएन । अहिले पनि भन्छु, हाम्रो गन्तव्य सही थियो । चढेको गाडी पनि ठीक थियो । तर ड्राइभर गलत परिदियो । जानुपर्ने एकातिर थियो तर नेताहरूले अर्कैतिर मोडिदिए ।

जनवादी गीत शासनसत्तासँग सम्बन्धित छ । त्यसैले सत्ताधारीहरूको सञ्चारमाध्यमहरूमा जनताका गीतले ठाउँ पाउँदैनन् । देशमा दुई तिहाइ बहुमत प्राप्त कम्युनिस्टको सरकार छ । तर रेडियो नेपाल र नेपाल टेलिभिजनका साथीहरू अझै पनि जनवादी गीत भन्न डराउँछन् । हाम्रै केही साथीहरू पेरिस डाँडामा कार्यक्रम हुँदा जनवादी गीत गाउन दिँदैनन् । हाम्रा नेताले त जनवादी गीत बुझेनन् बुझेनन् कलाकारले पनि बुझेका छैनन् । कहिलेकाहीँ समाज नै ढोंगी भएकाले यस्तो भएको हो कि जस्तो पनि लाग्छ ।

जनवादी गीत जनताबाट स्वीकृत भए पनि शासकबाट भएन । जसले हामीलाई क्रान्तिमा होमे, प्रयोग गरे, उसैले हाम्रो गीतलाई छिः छिः र दूर दूर गरिरहेको छ । मेरो आफ्नै एउटा भोगाइ कुरा गरौं । मैले नेपाल टेलिभिजनमा ‘आस्थाका स्वरहरू’ कार्यक्रम चलाउँथे । त्यसमा जनताको प्रतिनिधित्व थियो । आवाज थियो । तर उदेकको कुरा, कांग्रेस, राजावादीहरूले मेरो कार्यक्रमको प्रशंसा गरे, तर माओवादी स्कुलिङबाट आएका हाम्रै नेताले चिनेनन् ।

यो कार्यक्रम मैले कन्ट्याक्टमा चलाएको थिएँ । यसरी गरिएको कार्यक्रमको नवीकरण गनुृपर्ने नियम छ । तर, माधव नेपाल सरकारले गरिदिएन । व्यक्तिका लागि नभएर राष्ट्र र जनताका लागि मैले त्यो कार्यक्रम गरेको थिएँ । मेरो गाँस र बासको व्यवस्था त म मैतीदेवी र बानेश्वर चोकमा गीत गायर पनि गर्न सक्छु । तर नेताहरूले कहिल्यै हाम्रो समर्पण र त्याग बुझेनन् । मात्रै भ¥याङ बनाइरहे । चाइना र भारतलाई कसरी खुसी बनाउने भन्नेबाहेकमा ध्यान दिएनन् ।