राष्ट्रपति उम्मेदवारबारे छलफल गर्न माओवादी पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ । राष्ट्रपति निर्वाचनबारे छलफल गर्न माओवादी केन्द्रले पदाधिकारी बैठक डाकेको हो ।
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले अपराह्न साढे चार बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको जनाएको छ ।
यही फागुन २५ गतेका लागि तय राष्ट्रपति निर्वाचनमा सत्तासाझेदार दल एमालेले पूर्वसहमति सम्झाउँदै आफ्नो उम्मेदवारलाई सहयोग गर्नुपर्ने मत राख्दै आएको छ । तर माओवादी केन्द्र एमालेले खडा गरेको उम्मेदवारलाई समर्थन गर्ने पक्षमा छैन । यसले एमालेसँग माओवादीको असमझदारी बढाएको छ ।
एमालेसँग असमझदारी बढिरहेका बेला कांग्रेसले लगातार माओवादीलाई आफ्नो उम्मेदवारलाई सहयोग गर्न संवाद तीव्र पारेको छ । राजनीतिक वृत्तमा पुरानो गठबन्धन ब्युँताउन लागिएको चर्चा छ । पुरानो गठबन्धन ब्युँतिन नदिन ओलीले माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवारका रूपमा अघि सार्ने आकलन पनि कतिपयको छ ।
यसबीच बस्न लागेको माओवादी पदाधिकारी बैठकले यसबारे छलफल गरेर ठोस निर्णय गर्नेछ ।
प्रतिक्रिया