NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

नबिल बैंक र महिला उद्यमी महासंघबीच समझदारी

काठमाडौं । नबिल बैंक र महिला उद्यमी महासंघ (एफविन) बीच साझेदारी सम्झौता भएको छ । महिला उद्यमीहरुलाई प्रोत्साहन तथा सशक्तीकरण गर्ने र स्वदेशी उत्पादनलाई बढावा दिने उद्देश्यले महिला उद्यमीको वित्तीय पहुँच विस्तारको लागि उक्त सम्झौता भएको हो ।

साझेदारी  पत्रमा  बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गाना तथा एफविनका तर्फबाट अध्यक्ष निरु रायमाझी खत्रीले हस्ताक्षर गरे । यो समझदारी अन्तर्गत नबिल बैंकले आफ्नो बैंकको शाखा कार्यालयहरूमा महिला उद्यमीका उत्पादनको लागि स्टल उपलब्ध गराउने भएको छ ।

एफविनअन्तर्गतका महिला उद्यमीलाई नबिल बैंकको नबिल सामाजिक उद्यमशीलता (एनएसएसई) कार्यक्रम सम्बन्धी जानकारी तथा तालिममा सहभागी गराउने साझेदारीमा उल्लेख छ ।

समझदारीअनुसार पहिलो चरणमा एफविनले हरेक महिना एकपटक नबिल बैंकको केन्द्रिय कार्यालयमा स्टलहरु लगाउने छ ।

सो स्टलहरूमा नेपाली उद्यमीद्वारा उत्पादित  उत्पादनहरू रहनेछन् । यस प्रकारको नेपाली उत्पादनहरूले नबिलका कर्मचारी र यसका ग्राहकहरूको नेपाली उत्पादनहरूप्रति सकारात्मक व्यवहार परिवर्तन गर्न मद्दत गर्ने अपेक्षा राखिएको छ ।

वित्तीय पहुँच, उद्यमशीलता र वित्तीय साक्षरता तालिमले महिला सशक्तीकरणलाई बढावा दिने विश्वास राखिएको छ । यस साझेदारी अन्तर्गत दिगो विकासका १, ५, ८ र १७ नम्बरका लक्ष्यहरू समेटिने छन् ।

नेपाल सरकारले अवलम्बन गरेको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवशको दिन दिगो बैंकिङको सुरुवात गरेको हो । सुरुमा १७ वटा शाखाबाट सुरु गरेको दिगो बैंकिङ सेवा बैंकले हाल १०० शाखामा विस्तार गरेको छ ।