राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशित गरिँदै

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका मतदाताहरूको नामावली आज प्रकाशित गर्ने भएको छ । राष्ट्रपति निर्वाचन यही फागुन २५ र उपराष्ट्रपति निर्वाचन आगामी चैत ३ गते हुँदैछ ।
निर्वाचन आयोगले बुधबार राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका मतदाताको नामावली प्रकाशन गर्न लागेको जनाएको छ । सो निर्वाचन प्रयोजनका लागि आयोगले नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । सोही कार्यालयले नामावली प्रकाशन गर्नेछ ।
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय संसद् र प्रदेश सभाका सदस्य मतदाता हुन्छन् । आयोगले संघीय संसद् र प्रदेश सभा सचिवालयबाट कायम रहेका सदस्यको सूची मागेर मतदाता नामावली तयार पारेको हो । नामावली प्रकाशनपछि दाबी–विरोध गर्ने तथा नाम सच्याउन दुई दिनको समय दिइनेछ । १२ फागुनमा अन्तिम मतदाता नामावली प्रकाशन गरिने निर्वाचन आयोगको तयारी छ ।
०७८ को जनगणनाको अन्तिम प्रतिवेदन सार्वजनिक नभएकाले ०६८ को जनगणनाकै मतभारका आधारमा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन गर्ने निर्णय आयोगले यसअघि नै गरिसकेको छ ।
राष्ट्रपति निर्वाचनको मनोनयन मिति नजिकिए पनि उम्मेदवार टुंगो लगाउन दलहरूले सकेका छैनन् । एमालेले माओवादीलगायत सत्तासाझेदार दललाई पुस १० को सहमति स्मरण गराउँदै आफूले सिफारिस गरेको उम्मेदवारलाई समर्थन गर्नुपर्ने तर्क गर्दै अघि सार्दै आइरहेको छ भने माओवादी सर्वस्वीकार्य व्यक्तिलाई अघि सार्नुपर्ने पक्षमा छ । कांग्रेसको दाउचाहिँ पुरानो गठबन्धन ब्युँताएर आफ्नो पोल्टामा यो पद पार्ने छ ।
ताजा अपडेट
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
प्रतिक्रिया