NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

निसीखोलावासी स्वास्थ्य बीमाबाट वञ्चित

बलेवा । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाले स्वास्थ्य बीमाबापतको रकम समयमा भुक्तानी नगर्दा सर्वसाधारण बीमा सुविधाबाट वञ्चित भएका छन् ।

सबै नागरिकलाई स्वास्थ्य बीमामा सहभागी गराउन गाउँपालिकाले बीमाबापतको रकम समयमै भुक्तानी नदिँदा बीमा कार्यान्वयनमा नआएको हो । बीमाका लागि फाराम भरेर बसेका निसीखोलावासी बीमा सुविधा उपभोगबाट भने वञ्चित छन् ।

गाउँपालिकाले पहिलो चरणको ६४ लाख बीमा रकम भुक्तानी गर्न नसक्दा स्वास्थ्य बीमाको काम अघि बढ्नसकेको छैन । गत असारमा सम्पन्न दशौँ गाउँसभाले पालिकाका नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा गरेको थियो । पाँच हजार चार सय घरधुरीका लागि निःशुल्क बीमा गर्न राजस्व बाडफाँडबाट रु दुई करोड बजेट विनियोजन गरेको थियो ।

स्वास्थ्य बीमाको लागि पालिकाले पहिलो चरणमा नौ हजार एक सय ८५ जनाको विवरण संकलन गरिसकेको छ । विवरण संकलन भएका नागरिकले फागुन १ गतेदेखि सेवा लिनुपर्नेमा बीमाको रकम भुक्तानी नहुँदा कार्यान्वयनमा ढिलाइ भएको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले बताए।

सङ्घ, प्रदेश र पालिकाको आन्तरिक स्रोतको राजस्व बाँडफाँटबाट बीमा गर्ने निर्णय गाउँसभाले पारित गरेको थियो । भुक्तानी भएको तीन महिनाबाट नागरिकले स्वास्थ्य बीमाको सेवा लिन पाउँछन् । प्रदेश र सङ्घबाट आउने राजस्व बाँडफाँट शीर्षकमा बजेट राखिएकोमा बजेट प्राप्त नहुँदा कार्यान्वयनमा समस्या भएको गौतमको भनाइ छ । गाउँपालिकाले असोज, कात्तिक र मङ्सिरमा रकम भुक्तानी गरेको भए फागुन १ गतेदेखि नागरिकले बीमाको सेवा लिन पाउने थिए ।

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिलीपकुमार चन्दले पहिलो चरणमा परिवारको विवरण आए पनि विशेष विवरण नआएको प्रतिक्रिया दिए । ‘प्रदेश र सङ्घीय सरकारबाट थोरै बजेट प्राप्त हुँदा योजनामा बाँडफाँट गर्न गाह्रो भयो, एक हप्तामा राजस्व बजेट हेरेर भुक्तानी गछौँ’ चन्दले भने ।