खरानीटारमा ग्रामीण आँखा केन्द्र सञ्चालन
त्रिशुली । नुवाकोटको तादी गाँउपालिका–३ खरानीटारमा ग्रामीण आँखा केन्द्र सञ्चालनमा आएको छ । तिलगङ्गा आँखा प्रतिष्ठान र जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटको समन्वय तथा तादी गाउँपालिकाको सहयोगमा सो केन्द्र सञ्चालनमा ल्याइएको हो ।
आवश्यक जनशक्तिको व्यवस्थापनसहित उनीहरुलाई तालीम, भौतिक संरचनाको निर्माण, बिरामी जाँचको लागी आवश्यक उपकरणसहितको चस्मा र औषधिको व्यवस्थापन गरेर सेवा सुरु गरिएको तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङले जानकारी दिए ।
उनका अनुसार केन्द्रबाट आँखासम्बन्धी ससाना प्रकृतिका शल्यक्रियासहित आँखा जाँच, मोतियाबिन्दुको पहिचान, आँखाको लागि आवश्यक औषधि र चस्मा सेवा उपलब्ध गराइएको छ ।
आँखाको स्वास्थ्य जाँच गराउन यसअघि नुवाकोटको सदरमुकाम विदुर तथा राजधानी काठमाडौँ जानुपर्ने बाध्यता केन्द्र सञ्चालनमा आएसँगै अन्त्य भएको र यसबाट बिरामीलाई प्रत्यक्ष लाभ पुग्ने सामुदायिक आँखा केन्द्र नुवाकोटका प्रमुख ताराबहादुर वाइवाले जानकारी दिए ।
केन्द्रमा हाल नेत्र सहायक, अप्टिकलको सुविधा सहित आवश्यक औषधि र चस्मा सेवा उपलब्ध छ । केन्द्र सञ्चालनको लागि फर्निचरसहितको बन्दोबस्ती तादी गाउँपालिकाले मिलाएको हो । एक वर्षसम्मको लागि केन्द्रको आर्थिक व्यवस्थापन तिलगङ्गा आँखा प्रष्तिष्ठान र जिल्ला सामुदायिक आँखा केन्द्रको दायित्व हुने र त्यसपश्चात् सम्बन्धित तादी गाउँपालिकालाई हस्तान्तरण गरिने समझदारी भएको छ ।
नुवाकोटमा यसअघि सामुदायिक आँखा केन्द्रको समन्वयमा लिखुको चौघडा र दुप्चेश्वर गाँउपालिकाको समुद्रटारमा ग्रामीण आँखा केन्द्र स्थापना गरेर सेवा सञ्चालनमा रहेको छ ।
ताजा अपडेट
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने


प्रतिक्रिया