NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

तीन जिल्लामा हात्तीपाइले रोगविरुद्ध अभियान

लुम्बिनी । लुम्बिनी प्रदेशका तीन जिल्लामा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने अभियान आजदेखि सुरु भएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीस्थित पिपरी स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा सो अभियान शुभारम्भ गरे । दाङ, कपिलवस्तु र बाँके जिल्लामा सुरु गरिएको अभियान फागुन २५ गतेसम्म सञ्चालन हुनेछ ।

अभियान सुरुवात कार्यक्रममा प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री इन्द्रजीत चौधरी, प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव विकास देवकोटा, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले पनि उक्त औषधि सेवन गरे। हात्तीपाइले विरुद्ध यो औषधि दुई वर्ष उमेर पूरा गरेका सबैले खानुपर्छ तर दुई वर्ष नपुगेका बालबालिका, गर्भवती, सात दिनसम्मका सुत्केरी र सिकिस्त भई ओछ्यान परेका बिरामीले भने औषधि खान नहुने स्वास्थ्यकर्मीको भनाइ छ ।

तालिम प्राप्त स्वास्थ्यकर्मीको उपस्थितिमा सार्वजनिकस्थलमा औषधि खुवाइने भएकाले आफूलाई पायक पर्ने ठाउँमा पुगेर औषधि सेवन गर्न मुख्यमन्त्री गिरीले सबैसँग आग्रह गरे । औषधि सेवनले मानिसको शरीरमा हात्तीपाइले रोगको परजीवी भए नस्ट गरी रोगबाट बचाउने स्वास्थ्यकर्मीको भनाइ छ ।

लामखुट्टेको टोकाइबाट सर्ने यस्तो रोग लागेमा खुट्टा, स्तन र अण्डकोष सुन्निने र मानिसको ज्यान पनि जानसक्ने सम्भावना रहन्छ । अहिले पनि ती तीन जिल्लामा हात्तीपाइले विरुद्धको अभियान सफल हुनसकेको छैन । औषधिको असरबारे गलत बुझाइले औषधि नखाइदिँदा अभियान सफल हुन सकेको थिएन ।

छ वर्षभित्रै रोग उन्मूलन गर्ने लक्ष्य राखिएको यी जिल्लामा आजदेखि औषधि सेवन अभियान चलाइएको हो । यी तीन जिल्लामा हात्तीपाइले रोगविरुद्धको अभियान सुरु गर्दा सङ्क्रमणको दर २९ प्रतिशत रहेकामा अहिले घटेर चार प्रतशितमा झरेको छ । बाँकेमा हात्तीपाइले रोगको सङ्क्रमणको दर चार प्रतिशत र कपिलवस्तुमा आठ प्रतिशत छ ।

परीक्षणमा हात्तीपाइलेको जोखिम कायमै रहेको पाइएमा जोखिम न्यून नभएसम्म औषधि सेवन अभियान हरेक वर्ष चलाइन्छ  । यसवर्ष यी तीन जिल्लामा करिब साढे १९ लाखभन्दा बढीलाई औषधि खुवाइँदैछ । दाङमा छ लाख ८७ हजार, बाँकेमा छ लाख १६ हजार र कपिलवस्तुमा साढे छ लाख जनसङ्ख्यालाई औषधि खुवाउने लक्ष्य छ ।