NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

बालुवाटार सहमतिले बालकोटमा पराकम्प : असफल बनाउन एमालेले बोलायो बैठक

काठमाडौं । राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा सत्ता साझेदार दलका नेता ओली र प्रचण्डबीचको दूरी बढ्दै गइरहेको बेला पुरानो गठबन्धन व्युँताउने गरी दलहरूबीच बालुवाटारमा सहमति भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब तीन घण्टा चलेको बैठक सकरात्मक भएको शीर्ष नेताहरूको दाबी छ । बैठकमा सहभागी एक नेताका अनुसार राष्ट्रपतिमा कांग्रेस र एकीकृत समाजवादीको दाबी कायमै छ । उपराष्ट्रपति जसपालाई दिने गरी दलहरू सहमति नजिक छन् । राष्ट्रपतिमा नेपाललाई दाबी छाड्न लगाएर प्रधानमन्त्री बनाउने गरी लिखित सहमति गर्ने तयारी भइरहेको बालुवाटार स्रोतको दाबी छ ।

‘शुक्रबारको बैठकमा विभिन्न विकल्पमा छलफल भयो । निर्वाचनअघिको गठबन्धन ब्युँताउनेदेखि राष्ट्रपतिको साझा उम्मेदवार चयन गर्नेसम्म विषयमा छलफल भएको छ’, बैठकमा सहभागी एक नेताले भने, ‘कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवाले आफ्ना उम्मेदवारलाई समर्थन गर्न प्रस्ताव राखे । देउवाको प्रस्तावसँगै नेकपा एसले राष्ट्रपतिमा आफ्नो दाबी पेश गरे। बैठकमा जनमत पार्टी र लोसपालाई पनि समावेश गरी गठबन्धनलाई थप बलियो बनाउनुपर्नेमा सबैको सहमत छ ।’

यद्यपी बालुवाटार बैठकले सत्ता साझेदार दल एमालेलाई झस्काएको छ । पुरानो गठबन्धन ब्युँताएर दलहरू सहमत भएको र सहमतिकै आधारमा राष्ट्रपतिको साझा उम्मेदवार चयन गर्ने तयारी गरेपछि एमालेले शनिबार नै उम्मेदवारको विषय टुंगो लगाउने तयारी गरेको छ । राष्ट्रपतिको विषयमा निर्णय लिन एमालेले भोलि बिहान सचिवालयको बैठक बोलाएको छ ।

यसअघि एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री प्रचण्डलाई भेट गरी राष्ट्रपतिमा उपाध्यक्ष सुवास नेम्वाङ र माधव नेपालको नाम प्रस्ताव गरेका थिए । बालुवाटार बैठकको बारेमा एमाले शीर्ष नेताले हतारमा अहिले कुनै टिप्पणी नगर्ने बताएका छन् ।

‘हामी अहिले हतार र अनुमानको भरमा कुनै टिप्पणी गर्दैनौं । यस विषयम निर्णय लिन भोलि सचिवालय बैठक बोलाएका र्छौं’, एमालेका उपाध्यक्ष सुवास नेम्वाङले भने, ‘वर्तमान गठबन्धन भत्काउन धेरैले कामना गरेका छन् । कुनै हालतमा यो गठबन्धन फत्किदैन ।’ आफूले राष्ट्रपति फुत्किने भएपछि माधवलाई नै राष्ट्रपति बनाउने वा नयाँ समीकरण बनाएर निर्वाचन जित्ने भन्ने सम्बन्धमा गम्भीर समीक्षा हुने नेताहरूको भनाइ छ ।