NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

बीमालाई अनिवार्य गरेर सेवा प्रवाह गरेमा जोखिम न्यूनीकरण हुन्छ : अध्यक्ष सिलवाल

काठमाडाैं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले स्थानीय सरकार जनताको अभिभावक भएको उल्लेख गदैै बीमालाई अनिवार्य गरेर सेवा प्रवाह गरेमा जोखिम न्यूनीकरण हुने बताएका छन् ।

लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा आज रूपन्देहीको बुटवल उपमहानगरपालिकामा बीमासम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रममा उनले सो बताएका हुन् । अध्यक्ष सिलवालले भने, ‘स्थानीय सरकार जनताको अभिभावक हो, त्यसैले बीमालाई अनिवार्य गरेर सेवाप्रवाह गरेमा जोखिम न्यूनीकरण हुन्छ । घरको नक्सा पास गर्दा नै बीमा अनिवार्य गर्नुपर्छ । त्यसो भएमा कुनै घटनाबाट क्षति भएमा बीमा कम्पनीबाट नै क्षतिपूर्ति पाउने सुनिश्चितता हुन्छ ।’

अध्यक्ष सिलवालले भूकम्प, आगलागी, बाढी, पहिरो लगायतका विपत्तिमा राहत वितरणका लागि छुट्याइएको बजेट बीमामा सदुपयोग गर्नसके बीमाबाट सबैको जोखिम व्यवस्थापन हुने बताए ।

स्थानीय सरकारले बीमाका बारेमा बुझेपछि स्थानीय जनतासम्म बीमाका बारेमा जानकारी पु¥याउन सजिलो हुने उल्लेख गर्नुहुँदै अध्यक्ष सिलवालले बीमा दाबीका लागि सिफारिश दिँदा घटनाका बारेमा राम्रोसँग बुझेर मात्र सिफारिश दिन आग्रह गरे ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरी बीमाका समग्र विषयमा जानकारी दिएकोमा प्राधिकरणप्रति आभार प्रकट गरे ।

प्रमुख पाण्डेयले नागरिकको जीवन तथा सम्पत्तिको जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षण गर्नका लागि बीमालाई प्राथमिकताका साथ अगाडि बढाइने बताए ।
बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्री देवी अर्यालले पहिलो प्रयासका रूपमा न्यून आय भएका बर्गको बीमा गर्ने कार्यलाई अगाडि बढाइने उल्लेख गर्नुहुँदै बीमाको पहुँच विस्तारका लागि उपमहानगरपालिका सम्बद्ध सबै निकायसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

उपप्रमुख अर्यालले बीमा कम्पनीबाट बीमाको दाबी भुक्तानीमा ढिलाई हुने गरेको र कोरोना बीमाको दाबी भुक्तानी हालसम्म पनि नपाएको गुनासो गरे ।
प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले देशका सबै पालिकाहरूलाई बीमाका बारेमा जानकारी दिई पालिकाहरूमार्फत सबै नागरिकलाई बीमाको दायरामा ल्याउने उद्देश्यले प्राधिकरणले बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रमहरू आयोजना गर्दै आएको बताए ।

बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयसँगको समन्वयमा जीवन तथा निर्जीवन बीमालाई प्रभावकारीरूपले अगाडि बढाउने र त्यसमा कुनै कमी कमजोरी हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।