बनेपामा एक घर एक धारा अभियान
धुलिखेल । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११ मा जनतालाई स्वच्छ पानी उपलब्ध गराउने उद्देश्यले एक घर एक धारा अभियानलाई तीव्र बनाइएको छ ।
अभियान सञ्चालनका लागि हाल धारा जडान, ट्याङ्की निर्माण, डिपबोरिङलगायत काम भइरहेको वडाध्यक्ष शिवकुमार थापाले जानकारी दिनुभयो । सिनागालस्थित अपाङ्ग बाल अस्पताल पुनः स्थापना केन्द्रसहित करिब एकसय घरमा स्वच्छ खानेपानी पुर्याउन अभियान थालिएको उनले बताए ।
वडाध्यक्ष थापाका अनुसार धनेश्वरमा खानेपानी ट्याङ्की निर्माण भइसकेको छ । ‘गिरी र बञ्जरा टोलका लागि भने ट्याङ्की निर्माण भई पाइपलाइनको काम बाँकी छ । खानेपानी वितरणका लागि बजेट विनियोजन गरी पूर्वाधार निर्माण भइरहेका छन्’, उनले भने । आगामी चार वर्षमा सबै घरमा स्वच्छ खानेपानी पुर्याउने योजनसहित वडा कार्यालयले स्वच्छ खानेपानी अभियानलाई तीव्रता दिएको छ ।
पानीघाटस्थित डिपबोरिङ सञ्चालनका लागि विद्युत् प्राधिकरणसँग समन्वय गरी दुई महिनाभित्र उक्त क्षेत्रमा विद्युत् सञ्चालन गरिने वडाध्यक्ष थापाले जानकारी दिए। पानीघाट उपाभोक्ता समितिका अध्यक्ष गौतमप्रसाद गौतमले एकसय ५० घरधुरीलाई खानेपानी उपलब्ध गराउने योजना अन्तिम चरणमा पुगेको जानकारी दिए ।
‘केहीदिन अघिदेखि कतिपय घरका धारामा पानी झरिसकेको छ’, उनले भने । योजनाअन्तर्गत ९० प्रतिशत काम सम्पन्न भएको छ भने डिपबोरिङका लागि विद्युत् उपलब्ध नहुँदा काम रोकिएको छ । विद्युत् आपूर्तिपछि बाँकी कामलाई निरन्तरता दिइने बताइएको छ । अध्यक्ष गौतमका अनुसार डिपबोरिङका लागि बागमती प्रदेश सरकारबाट रु ६० लाख, बनेपा नगरपालिकाबाट रु १५ लाख र जिल्ला समन्वय समितिबाट रु १५ लाख विनियोजन भएको थियो ।
यसअघि उपभोक्ता समितिका सदस्यलाई मात्रै खानेपानी उपलब्ध गराउने विधान संशोधन गरी सबै घरमा धारा जडान गरिएपछि नयाँ र पुराना ग्राहकबीचको विभेदको अन्त्य भएको थियो । उपभोक्ताको निरन्तर खबरदारी, सहयोग तथा चासोका कारण ठेकेदार कम्पनीले कामलाई तीव्रता दिएको उपभोक्ता समितिका उपाध्यक्ष रामकृष्ण हुमागाईंले बताए।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया