NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

सत्ता समीकरण फेरबदलको अन्तिम कसरतमा बालुवाटार : के पाक्दैछ खिचडी ?

काठमाडौं । सत्ता समीकरणको अन्तिम कसरतमा रहेका प्रधानमन्त्रीसहित विपक्षी दलहरूको बालुवाटारमा जारी संयुक्त बैठकमा तीन दल थपिएका छन् ।

कांग्रेस, माओवादी, नेकपा एस र जसपा सहभागी भएको बैठकमा जनमत पार्टी, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टी थपिएका हुन् । कांग्रेस, माओवादीसहित सात दलको बैठक जारी छ ।

संयुक्त बैठकअघि प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र सत्ता साझेदार दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो। एमाले अध्यक्ष ओली बालुवाटारबाट निस्केपछि नेपाली कांग्रेसलगायत दलका नेताहरू बालुवाटार प्रवेश गरेका थिए।

बालुवाटारमा उनीहरूबीच राष्ट्रपति निर्वाचनलगायत विषयमा आज अपराह्न करिब दुई घन्टा छलफल भएको थियो। ओलीले सरकार गठनअघिको सहमतिअनुसार अघि बढ्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेका थिए । तर प्रचण्डले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपतिको उम्मेदवार चयन गर्नुपर्ने अडान दोहोर्याएका थिए ।

यसैगरी शुत्रबार बिहान बसेको पूर्वगठबन्धनको बैठकले निर्वाचन अघिको गठबन्धन ब्युँताउने सहमति गरेका थिए । पावर सेयरिङलगायत विषयमा साँझ बस्ने बैठकले टुंगो लगाउने गरी सहमति गर्ने निर्णय गरेका थिए ।

कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीले राष्ट्रपति उम्मेदवारमा सहमति र शक्ति बाँडफाँटलगायत विषयमा पनि आजै सहमति गर्ने तयारी गरेका छन्। बिहान बसेको बैठकमा राष्ट्रपति कांग्रेसले लिने, उपराष्ट्रपति जसपाले लिने र नेपालाई प्रधानमन्त्री बनाउने गरी सहमति नजिक रहेको बालुवाटार स्रोतको दाबी छ । एमालेले विकसित राजनीतिबारे समीक्षा र राष्ट्रपतिको उम्मेदवार उठाउने सम्बन्धमा निर्णय लिन भोलि बिहान बैठक बोलाएको छ ।

निर्वाचन आयोगले शनिबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गर्नुपर्ने तालिका छ।