NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

राष्ट्रपतिका दुवै उम्मेदवारका समानता

काठमाडौं । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।

कांग्रेस, माओवादी केन्द्र लगायत ८ दलिय गठबन्धनले कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई साझा उम्मेदवार बनाएको छ ।

नेकपा एमालेले उपनेता सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । फरक फरक पृष्ठभूमीबाट राष्ट्रपतिको उम्मेदवार बनेका पौडेल र नेम्वाङवीच केही समानता छ ।

दुवै पूर्व सभामुख

उनीहरु दुवै जना पुर्व सभामुख हुन् । रामचन्द्र पौडेल २०५० देखि चार बर्षसम्म सभामुखको भूमिकामा थिए ।

सुवास नेम्वाङ संविधानसभा पहिलो र दोस्रोको अध्यक्ष भए । संविधानसभाको काम गर्दा संविधानसभा अध्यक्ष र संसदको भूमिकामा काम गर्दा सभामुखको भूमिकामा उनले दुई कार्यकाल काम गरेका थिए ।

शालिन

राष्ट्रपतिका दुवै उम्मेदवार शालिन छवीका छन् । कांग्रेसका रामचन्द्र पौडेल सादगी नेताको रुपमा पार्टी भित्र र बाहिर परिचित छन् । तर केहिले उनलाई लोभी नेताको रुपमा पनि चित्रण गर्ने गर्छन् ।

अर्का उम्मेदवार सुवास नेम्वाङ पनि शालिन छवीका छन् । कम बोल्ने स्वभावका नेम्वाङबाट विवादित अभिव्यक्ति खासै सुनिदैन ।

उनी विपक्षीको आलोचनाका लागि पनि सभ्य भाषा प्रयोग गर्न रुचाउँछन् । दुवै नेता विपक्षीलाई विझाउन चाहन्नन् ।

गणतन्त्रको पक्षधर

२०६२–२०६३ को आन्दोलनमा यी दुवै उम्मेदवारले गणतन्त्रको पक्षमा सक्रिय भूमिका खेलेका थिए । त्यसपछि गणतन्त्र संस्थागत गर्ने, संविधानसभाबाट संविधान जारी गर्ने र त्यसपश्चान संविधानको रक्षाका पक्षमा दुवै नेता खरो उत्रने गरेका छन् ।

दुई बर्ष अघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्दा दलको उपनेता रहेका नेम्वाङले संसद विघटनको कहिल्यै वकालत गरेनन् । उनले संसद विघटनलाई अहिलेसम्म समर्थन गरेका छैनन् ।

रामचन्द्र पौडेलले पनि संविधानको रक्षाका बारेमा चिन्ता जनाउँदै आएका छन् ।

सदाचारी र शान्त

नेम्वाङ र पौडेल दुवै स्वभावले शान्त नेता हुन् । उनीहरुमाथि अहिलेसम्म भ्रष्टाचारको आरोप लागेको छैन । उनीहरुमाथि कुनै आर्थिक अनियमितताको प्रश्न पनि उठेको छैन ।

अहिलेसम्मको विवरणहरुमा उनीहरु सदाचारी नेताको रुपमा परिचित छन् ।

राजनीतिमा आफु र आफ्ना आसपासकालाई राज्यको स्रोत साधन पोस्ने प्रवृती मौलाइरहेका बेला उनीहरुमाथि अहिलेसम्म त्यस्तो आरोप लागेको छैन । त्यसकारण पनि दुवै उम्मेदवार सदाचारी छन् ।