NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

परराष्ट्रमन्त्री डा पौड्याल जेनेभा जाँदै

काठमाडौं । परराष्ट्र मन्त्री डा विमला राई पौड्याल मानवाधिकार परिषद्को ५२औँ सत्रमा भाग लिन आज स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्ने भएकी छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ त्यसतर्फ जान लागेकी हुन्।

नेपाल परिषद्को सदस्य राष्ट्र हो । सो अवसरमा नेपालले गरेका प्रतिबद्धता र त्यसमा गरेका कामबारे समेत अवगत गराउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्री डा पौड्यालले नेपालको उपस्थिति र यस क्षेत्रमा नेपालले गरेका प्रगति र कामका बारेमा विश्व मञ्चमा जानकारी गराउनका लागि पनि यसपटकको सहभागिता महत्वपूर्ण हुने बताइन् ।

नेपालले सङ्क्रमणकालीन न्यायसँग जोडिएका विषय र गरेका कामका बारेमा अन्तर्राष्ट्रिय मञ्चमा सुनाउनेछ । सो अवसरमा विभिन्न द्विपक्षीय भेटवार्ता हुने, परिषद्का उच्चायुक्त, आइएलओका महानिर्देशकलगायतसँग समेत भेट हुने मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।

मन्त्री डा पौड्याल नेतृत्वको प्रतिनिधिमण्डल परिषद्को सम्मेलनमा सहभागीपश्चात् यही फागुन १९ गते जेनेभाबाट कतारको दोहा प्रस्थान गर्ने कार्यक्रम छ ।

उनी दोहामा अतिकम विकसित मुलुकहरु (एलडिसिज)को पाँचौँ सम्मेलनमा सहभागी हुनेछिन् । सो सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको प्रतिनिधिमण्डलले सहभागिता जनाउनेछ । परराष्ट्रमन्त्री डा पौड्याल यही फागुन २३ गते स्वदेश फर्कनेछिन् ।