बालबालिकालाई वडाबाटै निःशुल्क ‘ट्यूसन’ कक्षा सञ्चालन
दमक । दमक नगरपालिका–९ वडा कार्यालयले विपन्न बालबालिकालाई लक्षित गरी निःशुल्क ट्युसन कक्षा सञ्चालन गरेको छ । वडा कार्यालयले विपन्न समुदायका बालबालिकालाई ट्युसन कक्षाको व्यवस्था गरेको हो ।
वडाले पहिलो चरणमा उराव बस्तीमा निःशुल्क ट्युसन कक्षा सञ्चालन गरेको छ । यहाँका अधिकांस बासिन्दा स्थानीय चिया बगानमा काम गर्छन् । विपन्न समुदायका बालबालिकालाई लक्षित गरी अतिरिक्त ट्यूसन कक्षा सञ्चालन गरिँदैआएको वडाअध्यक्ष कुवेर भट्टराईले बताए ।
यहाँका विद्यार्थी स्थानीय महालक्ष्मी आधारभूत र पाणीनी माध्यमिक विद्यालयमा अध्ययनरत छन् । सामुदायिक विद्यालयमा नियमित पठनपाठनका अतिरिक्त कमजोर विद्यार्थीका लागि निःशुल्क ट्यूसन कक्षा सञ्चालन गरिएको हो । ट्यूसनका लागि वडाले कार्यक्रममा नै बजेट समावेश गरेको वडाध्यक्ष भट्टराईले बताए ।
‘विद्यार्थीलाई पढाइमा अब्बल बनाउन यस किसिमको कार्यक्रम सुरु गरिएको हो, यसबाट बालबालिकाको शिक्षामा सुधार आएको छ’, उनले भने । दैनिक ज्यालदारी गरेर जीविकोपार्जन गर्दैआएका स्थानीयले छोराछोरीलाई अतिरिक्त शुल्क तिरेर पढाउने अवस्था छैन । दैनिक ज्यालाले गर्जो टार्ने हुँदा अधिकांस विद्यार्थी शिक्षाबाट वञ्चित छन् ।
‘शिक्षाको गुणस्तर वृद्धि गर्ने प्रयास गरेका छौँ, यसलाई निरन्तरता दिन्छौँ’, वडाध्यक्ष भट्टराईले भने । वडाले यसका लागि रू ७५ हजार बजेट छुट्याएको छ । वडाको दिपज्योति उराव बस्तीमा सञ्चालित ट्यूसन कक्षामा कक्षा १ देखि ६ सम्मका ४३ तथा कक्षा ७ देखि १० सम्मका ३० बालबालिका सहभागी हुँदै आएका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया