NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

नेप्से परिसूचकमा झिनो अंकको गिरावट

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलव ८१ अंकले ओरालो लागेर दुई हजार १९ दशमलव ७३ मा सीमित भएको छ ।यस्तै, ठूला कम्पनीको सेयर कारोबार गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव शून्य ८ अंकले ओरालो लागेर तीन सय ८१ दशमलव ९३ मा सीमित भएको छ ।

कारोबार भएका १३ उपसमूहको सेयरमध्ये चार उपसमूहको सेयर मूल्य उकालो लाग्दा नौ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ ।कारोबार भएकामध्ये ८८ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा एक सय १८ कम्पनीको भने ओरालो लागेको छ । यस्तै, १० उपसमूहको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन ।

कूल ३९ लाख ४६ हजार २४ कित्ता सेयर एक अर्ब ३८ करोड ७८ लाख ६५ हजार पाँच सय १५ मूल्यमा खरिद बिक्री भएको छ । कारोबारका आधारमा युनिभर्सल पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको सात करोड ५५ लाख ११ हजार पाँच सय ८४ बराबरको कारोबार भयो ।

यस्तै, शिवम् सिमेन्ट छ करोड ५० लाख ६९ हजार नौ सय ८९, सानिमा माई हाइड्रोपावर छ करोड ४६ लाख १३ हजार नौ सय ७७, नेपाल पूर्वाधार बैंक तीन करोड ७६ लाख २४ हजार पाँच सय ७६ र हिमालयन डिस्टिलरी तीन करोड ४४ लाख ६० हजार आठ सय १९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार आँधीखोला लघुवित्त, आर्दश लघुवित्त र खप्तड लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, सिद्धार्थ इन्स्योरेन्स छ दशमलव १४, सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले पाँच दशमलव ७६ प्रतिशतले कमाएका छन् ।

त्यस्तै, प्रिमियर इन्स्योरेन्स तीन दशमलव ८५, राप्ती हाइड्रो तीन दशमलव ८४, सामलिङ पावर तीन दशमलव ७९, तारागाँउ रिजेन्सी होटल तीन दशमलव ७८, स्वाभिमान लघुवित्तका लगानीकर्ताले तीन दशमलव २९ प्रतिशतले गुमाएका छन् ।