NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २२ गते

भृकुटीमण्डप जग्गा प्रकरण : यी हुन् अदालतबाट दोषी ठहर नौ व्यक्ति

समाज कल्याण परिषद्को भृकुटीमण्डपस्थित जग्गा भाडामा लगाउँदा ३१ करोड भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै विशेष अदालतले पूर्वमन्त्रीद्वय बद्री न्यौपाने र टेकबहादुर गुरुङसहित नौजनालाई दोषी ठहर गरेको छ । तत्कालीन महिला, बालबालिका तथा समाज कल्याणमन्त्री बद्री न्यौपानेको नेतृत्वमा २० भदौ ०६९ मा बसेको समाजकल्याण परिषद् कार्य सञ्चालन समितिको बैठकले विनाप्रतिस्पर्धा पूर्वश्रम राज्यमन्त्री टेकबहादुर गुरुङ सञ्चालक रहेको भृकुटीमण्डप फनपार्कलाई ६० रोपनी जग्गा कौडीको भाउमा भाडामा लगाएको थियो । गुरुङ हालका निलम्बित सांसद पनि हुन् ।

जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रियाविपरीत क्रियाकलाप गरेर सरकारलाई हानि–नोक्सानी पुर्‍याएको उजुरी परेपछि अख्तियारले अनुसन्धान गरी २१ माघ ०७५ मा १४ जनाविरुद्ध विशेषमा मुद्दा दायर गरेको थियो । ३१ करोड ५२ लाख रुपैयाँभन्दा बढीको भ्रष्टाचार भएको अख्तियारको अनुसन्धानलाई मुद्दा दायरको चार वर्षपछि विशेषले सदर गरेको छ । विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोेलाको इजलासले यस्तो फैसला गरेको हो ।

तत्कालीन मन्त्री न्यौपानेलाई भने भ्रष्टाचार निवारण ऐनको दफा १७ बमोजिमको कसुरमा दफा ३ (१) (क) र २४ बमोजिम सजाय हुनुपर्ने मागदाबी गरिएको थियो । दफा १७ मा सार्वजनिक सम्पत्ति हानि–नोक्सानी गर्नेलाई सजाय हुने उल्लेख छ भने दफा ३ (१) (झ) को अभियोग पुष्टि भए आठदेखि १० वर्षसम्म कैद र बिगोबमोजिम जरिवाना हुने उल्लेख छ ।

उति नै बिगो र सजाय मागदाबीसहित पूर्वमन्त्री न्यौपाने, समाज कल्याण परिषद्का तत्कालीन उपाध्यक्ष प्रमोद मेहता, तत्कालीन कोषाध्यक्ष कुञ्जबिहारीप्रसाद चौधरी तथा सदस्यसचिव रवीन्द्रकुमार यादवलाई मुद्दा दायर भएकोमा विशेषले सबैमाथि कसुर पुष्टि हुने फैसला सुनाएको छ ।

परिषद्का तत्कालीन सदस्यहरू मोहनराज शर्मा, मदनकुमारलाल कर्ण र हरि न्यौपानेलाई सोही ऐनको दफा १७ बमोजिम सार्वजनिक सम्पत्तिको हानि–नोक्सानी गरेको भन्दै आठदेखि १० वर्षसम्म कैद सजाय माग गरिएको थियो । उनीहरू पनि दोषी ठहर भएका छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष