NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

ईन्फोडेवलपर्स प्रालि र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता

काठमाडौं । ईन्फोडेवलपर्स प्रालि र नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल)बीच सम्झौता भएको छ । ईन्फोडेवलपर्ससँग आबद्ध सहकारी संस्थाहरुले आफ्नो बैंक तथा वित्तीय संस्थाहरु मार्फत एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरु प्रयोगगरी भुक्तानी कारोबारलाई डिजिटाइज गर्ने कार्यलाई सहजीकरण गराउने सहकार्यताको सम्झौता भएको हो ।

सम्झौता पत्रमा ईन्फोडेवलपर्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत उमेश रघुबंशी र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

उक्त सहकार्यको सम्झौता पश्चात ईन्फोडेवलपर्सको कोर सिस्टम प्रयोग गरी रहेका विभिन्न सहकारी संस्थाहरुले आफ्ना क, ख र ग वर्गका बैंक वित्तीय संस्थाहरुमा रहेको खातामा सजिलै रकम प्राप्त गर्न सक्नेछन् । त्यसैगरी खाताबाट नै आफ्नो सेटलमेन्ट बैंक मार्फत बैंक वित्तीय संस्थामा रहेको हितग्राहीको खातामा सजिलै फण्ड ट्रान्सफर तथा अन्य भुक्तानीहरु गर्न सकिने व्यवस्था मिलाइएको छ ।

उक्त सेवाहरुलाई सहकारी संस्थाहरुले उपलब्ध गराएको मोबाईल बैंकिङ्ग एप मार्फत पनि विस्तार गर्न सकिने छ । विद्युत्तिय भुक्तानी कारोबारको दायरा फराकिलो गरी थप ग्राहक समुहमा बैंकिङ्ग पहुँच पुर्याउन यस एनसीएचएल र ईन्फोडेवलपर्सको सहकार्याताले थप टेवा पुर्याउने अपेक्षा गरिएको छ ।

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुमा हाल ५५ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने अन्य पिएसपी/ पिएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका ८० भन्दा बढी गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।

ईन्फोडेवलपर्स प्रालिले सहकारी संस्थाका साथै विभिन्न सरकारी तथा अर्ध सरकारी, लघुवित्त, शेयर मार्केट लगायतका विभिन्न संस्थाहरुलाई कोर सिस्टम प्रदान गरी डिजिटल माध्यमबाट भुक्तानी कारोबारहरु गर्न मद्दत पुर्याउँदै आएको छ ।