मेसीलाई आफ्नै देशभित्रबाट ज्यान मार्ने धम्की, पत्नीका आफन्तको सुपरमार्केटमा आक्रमण
काठमाडौं (एजेन्सी) । अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीलाई आफ्नै देशभित्रबाट ज्यान मार्ने धम्की आएको छ । साथै उनको पत्नीका आफन्तको सुपरमार्केटमा आक्रमण गरिएको छ ।
अर्जेन्टिनाको बन्दुकधारी समूहले मेसीको पत्नीका आफन्तको सुपरमार्केटमा आक्रमण गर्दै ज्यान मार्ने धम्की दिएका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले मेसीको गृहनगर रोजारियोको एक सुपरमार्केटमा गोली चलेको लेखेका छन् । बन्दुकधारीले लक्ष्य गरेर गोली चलाएको सुपरमार्केट मेसीको पत्नी एन्टोनेला रोकुज्जोका आफन्तहरूको भएको बताइएको छ ।
स्थानीय प्रहरीले घटनाको पुष्टि गर्दै १४ राउण्ड फायरिङ भएको जनाएको छ ।
आक्रमणकारीहरूले मेसीका नाममा एउटा नोट छोडेका छन् । जसमा मेसीको ज्यान लिने धम्की दिइएको छ ।
आक्रमणकारीले अन्धाधुन्ध गोली चलाए पनि मानवीय क्षति भएको छैन । तर सुपरमार्केटमा धेरै नोक्सान पुगेको जनाइएको छ । घटना भएको स्थान देशको तेस्रो ठूलो सहर हो।
रोसारियोका मेयर जाभाकिनले घटनाप्रति चिन्ता व्यक्त गरेका छन् । मेसी र उनको पत्नीले घटनाबारे अहिलेसम्म मुख खोलेका छैनन् ।
मेयर जावाकिनले रोसारियो सहरमा संगठित अपराध रोक्न सुरक्षा बलहरू असफल भएको उल्लेख गर्दै घटनाबारे मेसीको श्रीमतीको परिवारसँग कुरा गरेको र उनीहरू चिन्तित रहेको बताए ।
मेसीको सार्वजनिक छवि निकै अनुशासित, शालीन र भद्र खेलाडीका रूपमा छ । कतार विश्वकपमा उनको कप्तानमा उत्रिएको अर्जेन्टिनाले ३६ वर्ष लामो उपाधिको खडेरी तोड्दै आफ्नो पोल्टामा पारेको थियो । उनै मेसीमाथि अहिले आफ्नै देशभित्रबाट ज्यान लिने धम्की आएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया