NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट के गर्न कति कर्जा पाइन्छ ?

काठमाडौं । गत पुसमा नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर भएको छ । मर्जरपछिको एकीकृत नाम ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक’ दिइएको छ । यो बैंकले भर्खरै एकीकृत कारोबार सुरु गरेको छ ।

एक साताअघि मात्रै यो बैंकले ३७ औं वार्षिक उत्सव मनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बजारमा एक प्रतिष्ठित, अब्बल तथा जनप्रिय बैंकका रूपमा स्थापित भएको बताउँछन् ।

‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ नाराका साथ अघि बढेको यो बैंकले ग्राहकवर्गको विश्वास जित्दै समयसापेक्ष विभिन्न सेवा प्रदान गरिरहेको छ । यो बैंकले हाल २९६ शाखा, २७९ एटिएम, ५० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउण्टर र १०९ शाखारहित बैंकिङ काउण्टरबाट सेवा प्रदान गरिरहेको छ ।

बैंकले प्रदान गर्दै आएका विभिन्न सेवामध्ये सुलभ कर्जा योजना पनि एक हो । लगानी गर्न चाहेका तर वित्तीय स्रोत अभावले रोकिएकाहरूलाई आवश्यक प्रक्रिया पु-याएर बैंकले कर्जा प्रदान गर्दै आइरहेको छ । यति मात्र होइन, उच्च शिक्षा हासिल गर्न चाहेका विद्यार्थी, घर निर्माण गर्न चाहने कर्मचारीदेखि लगानीकर्ता, कर्मचारीसम्म बैंकको कर्जा योजनाबाट लाभान्वित हुनसक्छन् ।

बैंकले प्रदान गर्दै आएका कर्जा यस प्रकारका छन् :

घरकर्जा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सजिलै प्रक्रियाबाट ऋण उपलब्ध हुने गरी सुलभ ब्याजदरसहित घरकर्जा (होम लोन) उपलब्ध गराउँदै आएको छ । घर निर्माण गर्ने चाहना हुँदाहुँदै पनि रकम अभावमा खुम्चिन बाध्यहरूको सपना साकार पार्न यो कर्जा योजना सञ्चालन गरेको बैंकले जनाएको छ ।

कन्स्ट्रक्सन विल्डिङ, अपार्टमेन्ट/कोलोनी, हाउजिङ, वित्तीय संस्थाहरूको भवन निर्माणका लागि ऋण उपलब्ध गराउँदै आइरहेको बैंकले जनाएको छ ।

भवन निर्माणतर्फ बैंकले शत प्रतिशत लागत कभर हुने गरी ऋण दिन्छ । घर खरिद गर्न चाहने ग्राहकले २५ वर्षका लागि १ करोड ५० लाख रूपैयाँसम्मको ऋण लिन सक्नेछन् । ऋण बजारमूल्यको अधिकमत ७० प्रतिशतसम्म वा राष्ट्र बैंकले जारी गरेको निर्देशनअनुसार जारी हुने बैंकले जनाएको छ ।

शैक्षिक कर्जा

उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीले पनि इन्भेष्टमेन्ट मेगा बैंकको शैक्षिक कर्जा सुविधाबाट लाभ लिन सक्नेछन् । बैंकका अनुसार, नेपालभित्र र बाहिर दुवैतिर अध्ययन गर्न चाहनेले यस्तो ऋण लिन सक्नेछन् ।

स्नातक तह, स्नातकोत्तर डिग्री, डिप्लोमा, डक्टर, नर्स, म्यानेजमेन्ट, सूचना प्रविधि, चार्टर अकाउन्टेन्सी, पाइलट प्रशिक्षणलगायत कोर्ष गर्न चाहने विद्यार्थीलाई बैंकले यो ऋण प्रदान गर्दै आएको छ । १० लाख रूपैयाँसम्मको ऋणको अवधि १० वर्ष छ । ब्याज बैंकले प्रकाशित गरेअनुसार हुनेछ ।

क्लिन सोसियल लोन

क्लिन सोसियल लोन अर्थात ‘स्वच्छ सामाजिक कर्जा’ गैरसम्पति आधारित ऋण हो । कर्मचारी, व्यावसायिक व्यक्तिहरूको वित्तीय आवश्यकता पूरा गर्ने उद्देश्यले यो ऋण योजना सञ्चालन गरिएको हो ।

यो योजनाअनुसार ग्राहकले ५ लाख रूपैयाँदेखि १५ लाख रूपैयाँसम्म ५ वर्ष अवधिको लागि यो ऋण पाउँछन् । विशेगरी आइएनजिओ/डिप्लोम्याटिक मिसन, कर्पोरेट हाउस, बैंक तथा वित्तिय संस्थाका तलबी कर्मचारी र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा तलब खाता भएका कर्मचारीहरू यो ऋणको लागि योग्य हुनेछन् ।

व्यक्तिगत कर्जा

यो योजना ग्राहकको भविष्य उज्ज्वल बनाउने उद्देश्यसाथ सुरु गरिएको हो । २१ देखि ७५ वर्ष उमेर समूहका नेपाली नागरिकले यो ऋण लिन सक्छन् ।

शिक्षा, स्वास्थ्य, चिकित्सालगायतका क्षेत्रमा तत्काल ऋण आवश्यक परेका ग्राहकले यो ऋणको लागि बैंकमा आवेदन दिन सक्नेछन् । राष्ट्र बैंकको नियमानुसार यो ऋण प्राप्त गर्न सकिन्छ । यसको अवधि न्यूनतम १ वर्षदेखि अधिकतम २० वर्षसम्म छ । ब्याजदर समयसमयमा बैंकले प्रकाशित गरेको ब्याजदरअनुसार हुनेछ ।

सवारी कर्जा

निजी सवारी साधन चढ्न रहर भएका तर स्रोत अभावले इच्छा मारेर बसेका व्यक्तिलाई लक्षित गरेर सञ्चालन गरिएको ऋण योजना हो, सवारी कर्जा । नेपाल इन्भेष्टमेन्टका अनुसार यो कर्जा छिटो, छरितो र झन्झटमुक्त ढंगले प्राप्त गर्न सकिन्छ ।

२१ वर्षदेखि ६० वर्ष उमेर समूहका नेपालीले यो ऋण लिएर लाभ हासिल गर्न सक्ने बैंकले जनाएको छ । ब्याजदर बैंकले प्रकाशित गरेअनुसार हुनेछ । ५० प्रतिशत प्रो फार्मा इनभ्वाइस (नेटअफ डिस्काउन्ट) र विद्युतीय साधनका लागि ८० प्रतिशतसम्म कर्जा उपलब्ध हुनेछ । ऋण चुक्ता गर्ने अवधि कमर्सिलय र निजी सवारीका लागि ५ वर्ष र इलेक्ट्रिक सवारीका लागि ४ वर्ष छ ।

फिक्सड डिपोजिट कर्जा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले प्रदान गर्दै आइरहेको यो कर्जा योजना मुद्दती निक्षेकर्ताहरूलाई छोटो अवधिका लागि तिनीहरूको वित्तीय आवश्यकता पूरा गर्नका लागि ल्याएको हो । यो कर्जा मुद्दती निक्षेकर्ताले आफ्नो मुद्दतीमा भएको रकमको ९० प्रतिशतसम्म पाउनेछन् ।

सेयर कर्जा

सेयर बजारमा लगानी गर्न चाहने लगानीकर्ताको वित्तीय आवश्यकतालाई पूरा गर्ने लक्ष्यसहित बैंकले सेयर कर्जा प्रदान गर्दै आएको छ । बैंकले प्रदान गर्दै आएको सेयर कर्जाबाट ऋण लिई लगानीर्कताले आफ्नो लगानी बढाउन सक्ने विश्वास बैंकले लिएको छ ।

बैंकका अनुसार, २१ वर्ष पूरा भएका नेपाली नागरिकले यो ऋणका लागि निवेदन गर्न सक्नेछन् । सूचीकृत कम्पनीमा सेयर भएका लगानीकर्ताले मात्रै यो ऋणको लागि निवेदन दिन सक्नेछन् ।

सुनचाँदी धितो कर्जा

तत्काल पैसा अभाव भएकाहरूले इन्भेष्टमेन्ट मेगा बैंकबाट सुनचाँदी धितोमा राखी नगद लिन सक्ने सुविधा पनि छ । १८ वर्ष उमेर पुगेका नेपाली नागरिकले यो ऋण सुविधा पाउनेछन् । बैंकले सुनका गहनाको मूल्यको ७० प्रतिशतसम्म र फाइन गोल्डको ८० प्रतिशतसम्म कर्जा प्रदान गर्ने जनाएको छ ।

ऋणको अवधि भने १ वर्षको रहेको छ । कर्जाको ब्याज बैंकले त्रैमासिक रूपमा प्रकाशित गर्ने ब्याजदरअनुसार नै कायम रहने छ ।