NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

प्रचण्डविरूद्ध सर्वोच्चको मुद्दाले माओवादीमा तरंग : बाबुराम र विप्लवको साथ

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरूद्धको रिट निवेदन सर्वोच्च अदालतले दर्ता गरेपछि माओवादीमा ठूलै हलचल भएको छ ।

१ माघ २०७६ मा माघीका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्द्वकालमा मारिएका ५ हजारको मात्र आफूले जिम्मा लिने अभिव्यक्ति दिएका थिए । तीन वर्षपछि सोही सार्वजनिक अभिव्यक्तिविरूद्ध अधिवक्ता ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकी लगायतले प्रचण्डमाथि फौजदारी अभियोगमा छानबिन र कारवाही हुनुपर्ने आदेश माग गर्दै १९ फागुनमा सर्वोच्चमा रिट दिएका थिए ।

त्यसअघि सर्वोच्च अदालत प्रशासनले राजनीतिक प्रकृतिको अभिव्यक्तिलाई लिएर निवेदन दर्ता हुन नसक्ने भन्दै दरपीठ (दर्ता नहुने) आदेश गरेको थियो । दरपीठ आदेश विरुद्ध निवेदकहरूले दिएको अर्को निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश द्वय ईश्वरप्रसाद खतिवडा र हरि फुँयालको संयुक्त इजलासले निवेदन दर्ता गर्न आदेश दिएको थियो ।

सर्वोच्चको आदेशविरूद्ध माओवादी केन्द्रका महासचिव देव गुरुङ आइतबार एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका छन् ।

‘प्रचण्डले संविधान प्रदक्त अधिकारलाई प्रयोग गरी अमुक सार्वजनिक कार्यक्रमहरूमा व्यक्त विचारलाई अतिशयोक्तिपूर्ण ढंगले व्याख्या र तर्क गरी ती अभिव्यक्तिलाई कारबाहीको विषय बनाइनुपर्छ भनी कलुषित पूर्वाग्रही भावनाले ग्रसित भई दायर भएको रिट निवेदन न्यायिक पुनरावलोकनको सामान्य सिद्धान्त विपरीत र नेपालको संविधानले प्रदान गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रता ठाडै प्रतिकूल भएको सम्बद्ध निकायहरूलाई अवगत गराउन चाहन्छौं,’ विज्ञप्तिमा उल्लेख छ ।

सर्वोच्चको आदेश जनयुद्ध, जनआन्दोलन, बृहत्त शान्ति सम्झौता र संविधान सभाबाट जारी भएको संविधान प्रतिकुल भएको ठहर गर्दै मुलुकमा प्राप्त उपलब्धीलाई समाप्त पार्न खोजेको आरोप माओवादीले लगाएको छ ।

प्रचण्ड आफैले घुमारउरो रूपमा सर्वोच्चको आदेश देशी विदेशी प्रतिक्रिया शक्तिले माओवादीविरूद्ध घेराबन्दी गरी प्राप्त उपलब्धीलाई समाप्त पार्ने खेल भएको आरोप लगाएका छन् । आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ले सम्पूर्ण माओवादी शक्तिहरूलाई एक ठाउँमा उभिन आह्वान गरेका छन् ।

‘हामी अहिले एकताबद्ध हुनुपर्छ भन्ने आवश्यकता सबैले महशुस गरेका छन् । म साथीलाई यो विषयमा गम्भीरतापूर्वक विचार गर्न आग्रह गर्दछु’, उनले भने, ‘माओवादीहरू एक ठाउँमा जम्मा भएर लाखौं जनता सडकमा उतार्ने हो भने प्रतिक्रियावादी शक्ति र तत्वहरू धेरै कमजोर हुनेछन् । माओवादीले एक पटक फेरी विजयको यात्रा तय गर्नेछ ।’

संयोग नै मान्नुपर्छ प्रचण्डविरूद्ध सर्वोच्चमा रिट निवेदन दायर भएका दुई दिनपछि प्रचण्डसहित पूर्वमाओवादीका शीर्ष नेताहरू एक ठाउँमा उभिएका छन् । शहीद सप्ताहको अन्तिम दिन आइतबार शहीद तथा बेपत्ता परिवार सन्तती फाउण्डेसनले शीर्ष नेताहरूलाई एउटै मञ्च सेयर गर्ने वातावरण जुटाएको हो । उक्त कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्री एवं नेसपाका अध्यक्ष बाबुराम भट्टराई, नेकपाका महासचिव नेत्रविक्रम चन्द्र विप्लव, नेकपा(माओवादी क्रान्तिकारी)लगायतका नेताहरूले माओवादीविरूद्ध चौतर्फी घेराबन्दी भएको भन्दै सम्पूर्ण माओवादी शक्ति एकजुट हुनुपर्ने धारणा राखे ।

माओवादी सशस्त्र युद्ध(२०५२–२०६२)का सर्वोच्च कमाण्डरसमेत रहेका प्रधानमन्त्री प्रचण्डले देशी विदेशी प्रतिक्रियावादीहरूको घेराबन्दी र षड्यन्त्र तोड्न माओवादी शक्ति एक ठाउँ आउनुको विकल्प नभएको बताए ।

नेपाल समाजवादीका अध्यक्ष भट्टराईले तीन वर्षअघिको सामान्य अभिव्यक्तिलाई लिएर बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाएको भन्दै उनले माओवादीलाई जिस्क्याउन खोजेको हो भनि प्रश्न गरे । कार्यक्रममा पूर्वमाओवादीहरू एक जुट हुनुपर्ने धारणा राखे ।

‘माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति भएको छ, एउटा बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउने हो ? यो निहुँ खोजेको होइन ? तीन वर्षअघिको भनाइको सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगा भनेर निर्णय गर्ने कुरा भनेको त्यो निहुँ खोजेको होइन, जिस्केको होइन त्यो ?’, उनले प्रश्न उठाए ।

यसैगरी नेकपाका महासचिव विप्लवले माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेलाई ठेगान लगाउने चेतावनी दिए ।

‘आज माओवादीले सारा बिगा¥यो भन्नेहरू छन् । प्रचण्डजी के गर्नुहुन्छ त्यो उहाँको कुरा । तर, मैले के भनेको छु भने माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेहरूलाई ठेगाना लगाइदिने तागत हामीसँग छ’, उनले भने ।

यसैगरी माओवादीका अन्य घटक नेकपा (माओवादी क्रान्तिकारी), नेकपा बहुमत लगायतका नेताहरूले माओवादी आन्दोलनबाट प्राप्त उपलब्धी बचाउन एकजुट हुन सबैलाई आह्वान गरेका थिए ।