राष्ट्रपति भण्डारीको आवास व्यवस्थापन गर्नै बजेट अभाव ?

काठमाडौं । फागुन १८ गते संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले मन्त्रालयलाई पत्र लेख्दै राष्ट्रपति विद्यादेवी भण्डारीको आवास व्यवस्थापन गर्न बजेट अभाव भएको जानकारी गराएको छ ।
राष्ट्रपति भण्डारीले अवकाशपछि आफ्नै भवनमा बस्ने बताएकी छिन् । तर उनको निजी भवनमा सुरक्षा पोष्ट बनाउन र आवश्यक मर्मतका लागि करिब २७ लाख खर्च हुने सचिवालयले जनाएको छ ।
मन्त्रिपरिषदले भण्डारीको आवास व्यवस्था गर्न माघ १० गते नै संघीय सचिवालयलाई निर्देशन दिएको थियो ।
तर म्याद गुज्रिँदै गएपछि सचिवालयले आवास व्यवस्थापनमा बजेट अभाव रहेको देखाउँदै शहरी विकास मन्त्रालयलाई फागुन १८ गते पत्र लेखेको हो ।
सचिवालयले पूर्वराष्ट्रपतिको आवास व्यवस्थापनका लागि करिब २७ लाख बजेट व्यवस्थापन गर्न आग्रह गरेको छ । र उक्त रकम खर्च गर्दा सार्वजनिक खरिद ऐनको व्यवस्था पालना गर्न नपर्ने व्यवस्था गरिदिन समेत आग्रह गरेको छ ।
खरिद ऐनअनुसार जाँदा आवास व्यवस्थापन गर्न नभ्याउने भन्दै सचिवालयले यस्तो आग्रह गरेको हो ।
प्रतिक्रिया