इमरान खानको भाषण प्रसारण गर्न पाकिस्तानी टेलिभिजन च्यानललाई प्रतिबन्ध

काठमाडौं । पाकिस्तानको इलेक्ट्रोनिक मिडिया अनुगमन निकायले पूर्वप्रधानमन्त्री इमरान खानको भाषण टिभी च्यानलमा प्रसारण गर्न प्रतिबन्ध लगाएको छ ।
तोशखाना मामलामा इमरानमाथि गिरफ्तारीको तरबार चलिरहेका बेला इलेक्ट्रोनिक मिडिया अनुगमन निकायले यस्तो कदम चालेको हो ।
अब इमरानका लाइभ र रेकर्ड दुवै खाले भाषण त्यहाँका टेलिभिजनमा च्यानलमा प्रसारण हुने छैनन् ।
पाकिस्तान इलेक्ट्रोनिक मिडिया नियामक प्राधिकरण (पिइएमआरए) को निर्देशिकाले इजाजतपत्र प्राप्त च्यानलहरूलाई देश वा सरकारी संस्थाविरुद्ध सामग्री प्रसारण गर्न निषेध गरेको छ । यही दफामा टेकेर खानका अभिव्यक्तिमाथि टेलिभिजनमा प्रतिबन्ध लगाइएको हो ।
देशका संस्थाविरुद्ध आधारहीन आरोप लगाउँदै घृणा फैलाउने इमरानको भाषणले कानून र व्यवस्थामाथि खतरा उत्पन्न भएको तथा शान्ति सुव्यवस्थामा खलल पुगेकाले प्रतिबन्ध लगाइएको पिइएमआरएको भनाइ छ ।
नियामक निकायले आदेश नमान्ने च्यानलको लाइसेन्स खारेज गर्ने चेतावनी पनि दिएको छ ।
तोशाखाना मुद्दामा गिरफ्तार गर्ने बाटो खुलेपछि इस्लामावाद पुलिस आइतवार इमरान खानलाई पक्राउ गर्न उनको निवास पुगेको थियो । खानको कानूनी टोलीले पूर्वप्रधानमन्त्रीलाई मार्च ७ मा अदालतमा हाजिर गराउने वचन दिएपछि प्रहरी टोली गिरफ्तार नगरी फर्किएको थियो ।
यो प्रकरणपछि खानले लाहोरस्थित आफ्नो निवास बाहिर पार्टी कार्यकर्ताहरूलाई सम्बोधन गर्दै आफू कहिल्यै कुनै व्यक्ति वा संस्थाको अगाडि नझुकेको अभिव्यक्ति दिएका थिए । साथै उनले सत्तारुढ दलका नेताहरूले विदेशमा लगेर सम्पत्ति लुकाएको आरोप लगाएका थिए ।
पाकिस्तानी सरकारले खानको अभिव्यक्तिलाई निराधार र भडकाउपूर्ण दाबी गर्दै आएको छ ।
प्रतिक्रिया