NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

देशले आज तेस्रो राष्ट्रपति पाउँदै

मतदान बिहान १० देखि दिउँसो ३ बजेसम्म, परिणाम साँझ ६ बजेभित्र

काठमाडौं । तेस्रो राष्ट्रपतिका लागि आज निर्वाचन हुँदैछ । निर्वाचन आयोगको घोषित कार्यतालिकाअनुसार बिहीबार निर्वाचन हुन लागेको हो ।

निर्वाचन आयोगका अनुसार, बिहान १० बजे सुरु हुने मतदान दिउँसो ३ बजेसम्म चल्नेछ । मतदानस्थल नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हललाई तोकिएको छ ।

३३२ मतदाता रहेको संघीय संसदको मतदान केन्द्रमा एउटा र ५५० मतदाता रहेको प्रदेशसभातर्फ दुई मतपेटिका राखिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य मतदाता रहनेछन् । संघीय संसदमा ३३२ र प्रदेश संसदमा ५५० सांसदले आफ्नो मतद्वारा आगामी पाँच वर्षका लागि राष्ट्रपति चयन गर्ने छन् । संघीय सांसदको एक मतबराबर ७९ र प्रदेश सांसदको एक मतबराबर ४८ मतभार कायम गरिएको छ ।

निर्वाचन आयोगका अनुसार, मतदान सकिएलगत्तै मतगणना सुरु हुनेछ । साँझ ६ बजेसम्म निर्वाचनको मतपरिणाम सार्वजनिक हुने आयोगको प्रक्षेपण छ ।

निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ उम्मेदवार बनेका छन् । पौडेल कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायत आठदलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हुन् भने नेम्वाङलाई अहिलेसम्म उनको दल एमालेबाहेकले समर्थन गर्ने निर्णय लिएका छैनन् ।