NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १९ गते

माई खोला हाइड्रोपावरको आजदेखि आइपिओ निष्कासन

काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडले आज (फागुन २५) बाट साधारण सेयर निष्कासन (आइपिओ) गरेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) को बिक्री खुला गरेको हो ।

कम्पनीले जारी पुँजी ३९ करोड २१ लाख ५६ हजार आठ सयको १० प्रतिशत अर्थात् तीन करोड ९२ लाख १५ हजार सात सय बराबरका एक सय दरका तीन लाख ९२ हजार एक सय ५७ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र इलामका बासिन्दाका लागि निष्कासन गरेको छ ।

त्यस्तै एक लाख ५२ हजार नौ ४१ कित्ता सेयर सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारमा रहेका नेपालीका लागि निष्कासन गरिएको कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ । निष्कासन गरिने सेयरमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाले सेयर खरिदका लागि न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारमा रहेका नेपालीले अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

त्यसमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन बन्द छिटोमा आगामी चैत ९ गते हुनेछ भने ढिलोमा चैत २४ मा हुने कम्पनीले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने चैत ९ गतेभित्र आवेदन दिनुपर्नेछ ।

स्थानीय बासिन्दाले हाइड्रोपावरको कार्यालय, प्रभु बैंक, सेञ्चुरी बैंक, प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालयका साथै प्रभु क्यापिटलले तयार पारेको अनलाइन व्यवस्थाबाट आवेदन दिन सक्नेछन् । त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय र अनलाइनमार्फत ‘मेरो शेयर’ प्रणाली प्रयोग गरेर आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । आइपिओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्युअर बिबी प्लस’ रेटिङ प्रदान गरेको छ ।

कम्पनीले इलाममा तीन मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरी विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जडान भई बिक्रीसमेत गरिरहेको छ ।