पपुवान्युगिनीलाई नेपालको २९८ रनको कीर्तिमानी लक्ष्य

काठमाडाैं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले पपुवान्युगिनी (पिएनजी) लाई २९८ रनको कीर्तिमानी लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हालेर पहिले ब्याटिङ गरेको नेपालले ५ बल खेल्न बाँकी हुँदा २९७ रनमा अलआउट भयो।
नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा बनाएको यो अहिलेसम्मकै उच्च स्कोर हो । यसअघि नेपालको उच्च स्कोर २८७ रन थियो।
नेपालका सुरुआती व्याट्सम्यान आशिफ शेखले सर्वाधिक ११० रनको योगदान दिए । उनले ११० बल खेल्दै उनले दुई छक्का र १२ चौका प्रहार गरे । आशिफको यो अन्तर्राष्ट्रिय क्रिकेट करिअरको पहिलो एक दिवसीय शतक हो । आशिफ नेपालबाट एकदिवसीयमा शतक प्रहार गर्ने पाँचौ नम्बरका खेलाडी बने । यसअघि राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले शतक प्रहार गरेका थिए ।
त्यस्तै आसिफले एकदिवसीय आफनो करिअरको एक हजार रनसमेत पूरा गरेका छन् । एक हजार रन पूरा गर्ने नेपालका उनी दोस्रो खेलाडी बने । यसअअघि नेपालका रोहित पौडेलले एकदिवसीयमा एक हजार रन पूरा गरेका थिए ।
आजको खेलमा सुरुआती अर्का व्याट्सम्यान कुशल भुर्तेलले ४५ रनको योगदान दिए । उनले ५६ बलमा ६ चौकासहित ४५ रन जोडे । आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ११० रनको शतकीय साझेदारी गरेका थिए ।
रोहित पौडेल ३९ बलमा २ चौका र १ छक्कासहित ३० रनमा क्याच आउट भए । त्यस्तै ज्ञानेन्द्र मल्लले ११ रन जोडे भने दीपेन्द्रसिंह ऐरी ७ रनमा आउट भए । यसैगरी भिम सार्कीले ४४ रन, आरिफ शेखले १५, करण केसीले आठ, सन्दीप लामिछानेले सात, तथा सोमपाल कामीले चार रन जोडे ।
बलिङतर्फ पपुवा न्यूगिनीका सेमो कमिया एक्लैले पाँच विकेट लिए भने राइली हेकुरेले तीन विकेट र एलियो नाओले एक विकेट लिए झारे ।
प्रतिक्रिया