नवनिर्वाचित राष्ट्रपति पौडेलले सोमबार शपथ लिने
काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् ।
राष्ट्रपतिको कार्यालयले उनको शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोहको आयोजना गर्ने तयारी गरेको राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।
नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । नवनिर्वाचित राष्ट्रपति पौडललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउने छन् ।
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका हुन् । उनी आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई दोब्बरभन्दा बढी मतले पराजित गरी निर्वाचित भएका हुन् । मतदानमा पौडेलले ३३ हजार आठ सय दुई र नेम्वाङले १५ हजार पाँच सय १८ मतभार प्राप्त गरेका थिए ।
संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्धन गर्ने उल्लेख छ । संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ । नेपालमा विसं २०६२/६३ को आन्दोलनको उपलब्धिका रुपमा मुलुकमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास सुरु भएको हो ।
राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटकसम्म राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनःउम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया