NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

विश्व रेकर्डनजिक सन्दीप लामिछाने

काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप उत्कृष्ट फर्ममा छन् । राष्ट्रिय टोलीमा पुनरागमन गरेको दिनदेखि सन्दीपले उत्कृष्ट प्रदर्शन मात्र गरेका छैनन्, नेपालको जितमा महत्वपूर्ण योगदानसमेत दिइरहेका छन् । अहिले सन्दीप विश्व क्रिकेटमा एउटा विश्व रेकर्डनजिक पुगेका छन् ।

एकदिवसीय क्रिकेटमा थोरै खेलमा सय विकेट लिने बलरका रूपमा उनी निकै अगाडि बढेका छन् । सन्दीपले ४० एकदिवसीय खेलबाट ९८ विकेट पुर्‍याएका छन् । एकदिवसीय खेलमा अफगानिस्तानका रसिद खानले ४४ खेलमा सय विकेटको विश्व कीर्तिमान राखेका छन् । खानले सन् २०१८ मा यो रेकर्ड बनाएका थिए ।

पपुवा न्युगिनीविरुद्ध प्रतिस्पर्धा गर्नुअघि सन्दीपले ९३ विकेट लिएका थिए । त्रिवि मैदानमा पुनः एकपटक धारिलो बलिङ गरेका सन्दीपले पपुवा न्युगिनीका पाँच ब्याट्सम्यानलाई आउट पार्दै आफ्नो विकेट संख्या ९८ पुर्‍याएका हुन् । विश्वकप लिग–२ मा अझै नेपालको एक खेल बाँकी छ ।

नेपालले २ चैतमा युएईविरुद्ध खेल्दै छ । सो खेलमा सन्दीपले तीन विकेट लिँदा उनी एकदिवसीय खेलमा कम खेलमा छिटो सय विकेट लिने बलर बन्नेछन् । एकदिवसीय खेलमा अस्ट्रेलियाका मिचेल स्टार्कले ५२ खेलमा सय विकेट लिएका छन् । स्मरण रहोस् कि एकदिवसीय इतिहासमा छिटो ५० विकेट पूरा गर्ने सन्दीप विश्वकै दोस्रो बलर हुन् । उनले केवल २२ खेलमा ५० विकेट लिएका थिए । श्रीलंकाका अजन्था मेन्डिसले कीर्तिमानी रूपमा १९ खेलमा ५० विकेट लिएका थिए । सन्दीपले पछिल्ला ४८ विकेट केवल १८ एकदिवसीयबाट हात पारेका छन् ।

गत साता सन्दीपले लगातार २७ एकदिवसीय खेलमा विकेट लिएको विश्व रेकर्ड राखेका थिए । उनले अस्ट्रेलियन बलर ब्रेट लीको नाममा रहेको लगातार २६ खेलमा विकेट लिएको रेकर्ड तोडेका थिए । सन्दीपले एकदिवसीय खेलमा तीनपटक पाँच विकेटको प्रदर्शन गरेका छन् । उनले पपुवा न्युगिनीविरुद्ध एक मेडनसहित २५ रन खर्चेर पाँच विकेट लिए । यसै त्रिवि मैदानमा सन्दीपले विश्वकप लिग–२ मा १६ रन खर्चेर ६ विकेट लिएका थिए ।

उनले सन् २०२१ मा पपुवा न्युगिनीविरुद्ध ११ रन खर्चेर ६ विकेट हात पारेका थिए । सन्दीपको एकदिवसीय खेलमा उत्कृष्ट बलिङ प्रदर्शन त्यही नै थियो । त्रिवि मैदानमा सन्दीपले स्पेलको अन्तिम ओभरको अन्तिम बलमा पपुवा न्युगिनीका सेमो कमियालाई आउट पार्दै पाँच विकेट पूरा गरेका थिए ।

सन्दीपले करण केसीको कीर्तिमान बराबरी गरेका छन् । करणले पनि एकदिवसीय खेलमा तीनपटक पाँच विकेट लिएका छन् । नेपालका लागि सोमपाल कामी र ललितनारायण राजवंशीले पनि समान एकपटक पाँच विकेट लिएका छन् । नेपालको एकदिवसीय खेलमा पाँच विकेट लिने पहिलो बलर सोमपाल कामी हुन् । उनले सन् २०१९ मा युएईविरुद्ध यो सफलता हात पारेका थिए , नयाँ पत्रिकामा खबर छ ।

ताजा अपडेट

नेपालवाच विशेष