NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

डिजिटल बैंकिङमा राष्ट्रिय वाणिज्य बैंक, के–के छन् सुविधा ?

काठमाडौं । लामो समय ढड्डा प्रणालीमा बिताएको राष्ट्रिय वाणिज्य बैंकले डिजिटल बैंकिङ प्रणालीमार्फत आफ्ना सेवालाई सशक्त बनाउँदै लगेको छ ।

प्रविधिमा भएको विकास र परिवर्तनलाई आत्मसाथ गर्दै डिजिटल माध्यमबाट सुरक्षित रूपमा ग्राहकलाई आधुनिक बैंकिङ सुविधा प्रदान गरिरहेको राष्ट्रिय वाणिज्य बैंकले जनाएको छ ।

बैंकका अनुसार, अहिले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटिम सेवा, कनेक्ट आइपिएस, प्वाइन्ट अफ सेल (पोस) सेवा, क्युआर सेवालगायतका डिजिटल सुविधा प्रदान गरिँदै आएको छ ।

बैंकले प्रवाह गरिरहेको डिजिटल सुविधा

ग्राहकको खातामा पैसा नभएता पनि कार्डबाट भुक्तानी गर्न सकिने सुविधासहितको कार्ड नै क्रेडिट कार्ड हो । यो कार्डमा खर्च भएको रकम कार्डबाहकले निश्चित समयपश्चात सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई भुक्तानी गर्नुपर्ने हुन्छ ।

राष्ट्रिय वाणिज्य बैंकले पनि सुरक्षित, सजिलो र सुविधाजनक डिजिटल भुक्तानी प्रदान गर्दै कन्ट्याक्टलेस क्रेडिट कार्ड सुविधा ग्राहकलाई दिँदै आएको छ । नगद कारोबारको जोखिमलाई न्यूनीकरण गर्न बैंकले प्रदान गर्ने उक्त कार्ड नेपाल, भारतसँगै भुटानमा पनि प्रयोग गर्न सकिन्छ ।

उक्त कार्ड एटिएम र पिओएस दुवैमा एसेप्ट हुने बैंकले जनाएको छ । सो कार्डमा ईकमर्स इनएबल गरिएको छ । यो सुविधा जुनसुकै शाखाबाट लिन सकिने बैंकले जनाएको छ ।

सर्वसुलभ ब्याजदरमा ग्राहकको आयस्रोत एवं भुक्तानी क्षमताको आधारमा २० हजार रूपैयाँदेखि ५ लाख रूपैयाँसम्म क्रेडिट लिमिट दिन सकिने बैंकले जनाएको छ ।

क्रेडिड कार्डबाट ग्राहकले दैनिक रकम भुक्तानी, अनलाइन सपिङ, तोकिएको सीमाभित्र रहेर रकम प्राप्तिलगायत सुविधा उपभोग गर्न सक्छन् ।

डेबिट कार्ड

आफ्नो बैंक खातामा भएको रकम बैंकको शाखामा नधाइकन झिक्न तथा भुक्तानी गर्न मिल्नेगरी ग्राहकको नाममा जारी गरिएको डिजिटल कार्ड नै डेबिट कार्ड हो । राष्ट्रिय वाणिज्य बैंकले चिपमा आधारित भिजा डेबिट कार्ड जारी गर्दै आएको छ । जसलाई अटोमेटिड टेलर मेसिन (एटिएम) मा प्रयोग गर्न सकिन्छ । यसकै साथ सामान तथा सेवाहरूको भुक्तानीको लागि पिओएसमा पनि प्रयोग गर्न सकिन्छ ।

बैंकले प्रदान गर्दै आएको भिसा डेबिट कार्ड भिसा नेटवर्कसँग सम्बन्धित सबै एटिएम र पिओएस मेसिनहरूमा एसेप्ट हुने छ । भिसा डेबिट कार्ड बैंकका सबै शाखाबाट प्राप्त गर्न सकिन्छ ।

बैंकले डेबिट कार्डअन्र्तगत आन्तरिक डेबिट कार्ड, अन्तर्राष्ट्रिय डेबिट कार्ड र भिसा ट्राभल कोटा उपलब्ध गराउँदै आएको छ । आन्तरिक डेबिट कार्ड देशभित्र रहेका बैंकका एटिएम एवं पिओएसमा चलाउन सकिन्छ । त्यस्तै, यो कार्डबाट विश्वका जुनसुकै एटिएम एवं पिओएस मेसिनबाट पनि सेवा लिन सकिन्छ । पासपोर्ट/टिकेटलगायतको अन्तर्राष्ट्रिय विदेशी मुद्रासँग जोडिएको भुक्तानी गर्न भिसा ट्राभल कोटा प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

डिजिटल संसार

राष्ट्रिय वाणिज्य बैंकले प्रदान गर्दै आइरहेको डिजिटल संसार मोबाइल बैंकिङ एप हो । बैंकले प्रदान गर्ने यो एप प्रयोग गरी मोबाइल वा ल्यापटपबाटै जुनसुकै समय डिजिटल बैंकिङको आनन्द लिन सकिन्छ ।

उक्त एपको प्रयोग गरी जुनसुकै स्थानबाट, जुनसुकै समयमा आफ्नो बैंकको खाता स्टेटमेन्ट, ट्रान्जेक्सन, विदेशी मुद्रादरलगायतको बारेमा जानकारी लिन सकिन्छ । यसबाहेक मोबाइल बैंकिङ एपबाटै फिक्स डिपोजिट खाता खोल्न, चेकको लागि अनुरोध गर्न सकिन्छ ।

त्यस्तै, एउटै खाता वा अन्य फरक खातामा रकम पठाउन सकिन्छ । मोबाइलबाटै टपअप जस्तै एनसेल/एटटिसी नेटवर्कमा ब्यालेन्स ट्रान्सफर, बत्ती, पानी, टिभी, इन्टरनेट, क्रेडिड कार्ड बिल, स्कुलको फी अनलाइनबाटै भुक्तानी गर्न सकिन्छ । त्यसैगरी, सरकारी राजश्व भुक्तानी, व्यापार भुक्तानी, तेस्रो पक्ष भुक्तानी, बीमाको प्रिमियम भुक्तानीसमेत गर्न सकिने सुविधा यसभित्र रहेको छ । यसबाहेक बैंकको विभिन्न स्थानमा रहेको शाखाबारे जानकारीसमेत लिन सकिन्छ ।

इन्टरनेट बैंकिङ

राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत ग्राहकहरूको लागि व्यक्तिगत इन्टरनेट बैंकिङ र कर्पोरेट ग्राहकहरूको लागि कर्पोरेट बैंकिङ सुविधा प्रदान गर्दै आएको छ । बैंकले दिँदै आएको यो डिजिटल सुविधा प्रयोग गरी ग्राहकले जुनसुकै समयमा जुनसुकै स्थानबाट इन्टरनेटबाटै बैंकिङ सुविधा लिन सकिनेछ । इन्टरनेट बैंकिङको माध्यमबाट ग्राहकले फण्ड ट्रान्सफर, कनेक्ट आइपिएस इन्टरबैंक फण्ड ट्रान्सफर, क्रेडिट कार्ड बिल भुक्तानी, ल्याण्डलाइन बिल भुक्तानी, पोस्टपेड बिल भुक्तानी, एनटिसी÷एनसेलमा ब्यालेन्सलगायत सुविधा प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

त्यसबाहेक चेक बुकको लागि अनुरोध, चेक बन्द गर्न अनुरोध गर्न सकिन्छ । यसबाहेक विभिन्न जानकारीजस्तै जनरल इन्फरमेसन, फुल इन्फरमेसन, मिनी स्टेटमेन्ट, फूल स्टेटमेन्टबारे लिन सकिनेछ ।

पिओएस सेवा

पोइन्ट अफ सेल (पिओएस) राष्ट्रिय वाणिज्य बैंकले प्रदान गर्दै आएको डिजिटल भुक्तानी सेवा हो । ग्राहकले यो सुविधाको प्रयोग गरी अनलाइन कारोबार गर्न सक्छन् ।

यसको विशेषता भनेको भिसा र डेबिड कार्डबाट पनि यो सुविधा लिन सकिन्छ । देशभरका जुनसुकै पिओएस मेसिनबाट रकम झिक्न सकिन्छ जसले पैसा बोक्नुपर्ने झण्झट र समयको बचत गराउने छ । ट्राभलिङ, सपिङलगायतको भुक्तानी सजिलै अनलाइनबाटै गर्न सक्ने सुविधा पिओएसमार्फत लिन सकिने बैंकले जनाएको छ ।

शाखारहित बैंकिङ

राष्ट्रिय वाणिज्य बैंकका शाखाहरूमा पहुँच नभएका ग्राहकहरूका लागि बैंकले शाखारहित बैंकिङ सुविधा प्रदान गर्दै आएको छ । यो सुविधाले बैंकिङ सुविधा नपुगेको विशेषगरी ग्रामीण समुदायमा वित्तीय पहुँच बढाउन मद्दत पुग्ने बैंकले जनाएको छ ।

यो सेवा बैंकको अधिकृत एजेन्टद्वारा दर्ता गरिएको इएप्टी पिओएस वा ट्याबलेट फोनमार्फत प्रदान गरिन्छ । बैंकले उपलब्ध गराएको मेसिनमार्फत खाता खोल्ने, रकम जम्मा गर्ने, झिक्ने, खाता रकम विवरणबारे जानकारी, फण्ड ट्रान्सफर, युटिलिटी पेमेन्ट, टपअपलगायतका सेवा ग्राहकले लिन सक्नेछन् ।

युएसएसएडी मोबाइल बैंकिङ

राष्ट्रिय वाणिज्य बैंकको यो युएसएसएडी मोबाइल बैंकिङ इन्टरनेटबिना नै चलाउन सकिन्छ । यो सुविधा प्रयोग गर्न ग्राहकको राष्ट्रिय वाणिज्य बैंकमा अनिवार्य खाता हुनुपर्ने छ । यो सुविधा साधारण मोबाइल सेटबाट जुनसकै ठाउँबाट सुरक्षित रूपमा लिन सकिन्छ ।

इन्टरनेटबिना नै युएसएसएडीबाट बैंकका ग्राहकले ब्यालेन्स चेक, स्टेटमेन्ट फण्ड ट्रान्सफर, मोबाइल टपअप, पिन परिवर्तन तथा ट्रान्जेक्सन पिन परिवर्तनलगायतका सेवा लिन सकिन्छ ।

यीबाहेक राष्ट्रिय वाणिज्य बैंकले प्रदान गर्दै आएको डिजिटल सेवाहरू जस्तै अनलाइनबाटै खाता खोल्न सकिने सुविधा रहेको छ । यो डिजिटल सुविधाअन्तर्गत राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्न चाहने ग्राहकले अनलाइनबाटै खाता खोल्न सक्छन् ।