NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असार २ गते

अभिनेता राजेश हमाल यस वर्षको ‘कम्युनिकेटर अवार्ड’ द्वारा सम्मानित

काठमाडाैं । उत्कृष्ट सञ्चार–कौशल भएका टोस्टमास्टर क्लब बाहिरका व्यक्तिलाई प्रदान गरिने प्रतिष्ठित ‘कम्युनिकेटर अवार्ड’ यो वर्ष अभिनेता राजेश हमाललाई प्रदान गरिएको छ ।

नेपालको ४ वटा डिभिजनहरुको टोस्टमास्टर्स इन्टरनेसनल डिस्ट्रिक्ट ४१ ले आयोजना गरिएको वार्षिक सम्मेलन ‘साइटेसन २०२३’ मा सो अवार्ड प्रदान गरिएको हो ।

डिस्ट्रिक्ट ४१ का डिस्ट्रिक्ट डिरेक्टर अंकुर यादव डिटिएम, डिस्ट्रिक्ट ४१ का प्रोग्राम क्वालिटी डिरेक्टर सुमन शाक्य डिटिएम, डिस्ट्रिक्ट ४१ का क्लब ग्रोथ डिरेक्टर मुन प्रधान डिटिएमले संयुक्त रुपमा अभिनेता राजेश हमाललाई उक्त अवार्ड प्रदान गरिएको हो ।

डिस्ट्रिक्ट ४१ का इमिडिएट पास्ट डिस्ट्रिक्ट डिरेक्टर रञ्जित आचार्यले यस वर्षको अवार्ड विजेता घोषणा गरेका थिए । उत्कृष्ट सञ्चार कौशल र अनुकरणीय योगदानका लागि अभिनेता राजेश हमाललाई यस वर्षको ‘कम्युनिकेटर अवार्ड’ द्वारा सम्मानित गरिएको हो । राजेश हमाल नेपाली मेगा स्टार हुन् । उनको जन्म पाल्पाको तानसेनमा भएको थियो । उनले विद्यालय शिक्षा मस्कोबाट पुरा गरेका थिए भने भारतको पञ्जाब विश्वविद्यालयबाट अंग्रेजीमा एमए पुरा गरेका थिए । उनी नेपाली चलचित्रको इतिहासमा सबैभन्दा प्रभावशाली र लोकप्रिय अभिनेता हुन् । उनी नेपाली चलचित्र उद्योगका ‘महानायक’ को रुपमा चिनिन्छन् । नेपालको सर्वाधिक लोकप्रिय अभिनेता राजेश हमाल विश्वभर बसोबास गर्ने लाखौं नेपालीहरूको सबैभन्दा प्रिय अभिनेता  पनि हुन् ।

उनले भने, ‘यो अवार्ड ग्रहण गर्न पाउँदा म गौरवान्वित भएको छु । मेरो काम र उपलब्धिलाई सम्मान गरेकोमा टोस्टमास्टर्सप्रति आभार प्रकट गर्दछु । अवश्य पनि यो सम्मानले मलाई भविष्यमा अझै राम्रो गर्न हौसला प्रदान गरेको छ ।’

सम्मेलनमा ‘आइ एम इन्टेग्रिटी’ थिममा प्यानल छलफल पनि गरिएको थियो । प्यानलमा श्री भूषण दाहाल, अनिल शाह र सुश्री रेशु ढुंगाना थिए भने छलफलको सञ्चालन ए डिभिजनका निर्देशक दिप्ती आचार्यले गरेका थिए । छलफलमा सबै प्यानल सदस्यहरूले व्यक्तिगत र व्यावसायिक जीवनमा इमान्दारिता कायम राख्नुपर्ने कुरामा प्रकाश पारेका थिए । डिभिजन सी निर्देशक रवीन्द्र प्रधानको संयोजकत्वमा भएको सम्मेलनमा टोस्टमास्टरका सदस्यहरूले आफ्नो गायन, नृत्य र हाँस्य–व्यंग्य प्रतिभा प्रदर्शन गरेका थिए । सम्मेलनलाई डिभिजन बि र डि का डाइरेक्टर जेनी मानन्धर र बृजेन्द्र रोचन जोशीले संयुक्त रुपमा समापन गरेका थिए ।

डिस्ट्रिक्ट ४१ का डिस्ट्रिक्ट डिरेक्टर अंकुर यादव डीटीएमले भने, ‘साइटेसन २०२३ एउटा ऐतिहासिक कार्यक्रम भएको छ । हामी सबैको लागि यो एउटा अत्यन्तै राम्रो सिक्ने अवसर थियो । दिल्लीदेखि म यहाँ आएको छु र नेपालको सबै टोस्टमास्टर्सहरुलाई भेट्न पाएको छु । आशा गर्दछु सबै टोस्टमास्टर्सहरुले एक–अर्कासँग राम्रोसँग चिनजान गर्नुभयो र राम्रो सञ्जाल बनाउनुभयो । पक्कै पनि यस सम्मेलनले सबै टोस्टमास्टर्सहरुलाई एकतावद्ध हुन र एक अर्कालाई अगाडि बढाउन मद्धत गरेको छ ।’

हाल नेपालका दुई वरिष्ठ टोस्टमास्टरहरू सुमन शाक्य डीटीएम र मुन प्रधान डीटीएमले क्रमशः प्रोग्राम क्वालिटी डिरेक्टर र क्लब ग्रोथ डिरेक्टरको रूपमा ट्रायो मेम्बरको रूपमा डिस्ट्रिक्ट ४१ मा सेवा प्रदान गरिरहेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष