NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

अनेरास्ववियुले सार्वजनिक गर्यो ‘मिसन अनेरास्ववियु’, यस्ता छन् विश्वविद्यालय सुधारका एजेण्डा

काठमाडौं । नेकपा एस निकट विद्यार्थी संगठन अनेरास्ववियुले निर्वाचन घोषणापत्र सार्वजनिक गरेको छ । अनामनगरस्थित कार्यालयमा आयोजित एक कार्यक्रममा अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

‘मिसन अनेरास्ववियु, भिजन २४’ नारासहित निर्वाचनमा होमिएको संगठनले विश्वविद्यालय सुधारका लागि २२ बुँदे शैक्षिक एजेण्डा अघि सारेको छ ।

अनेरास्ववियुले देशको कुल बजेटको २० प्रतिशत शिक्षामा लगानी गर्नुपर्ने, शिक्षामा व्यापक निजीकरण र व्यापारिकरणको अन्त्य गरिनुपर्ने, समयसापेक्ष शैक्षिक क्यालेन्डर बनाई अनिवार्य कार्यान्वयन गरिनुपर्ने, विद्यार्थीलाई रासन कार्ड, उच्च शिक्षा अध्ययनका लागि विना धितो र विना व्याज कर्जा, मेडिकल शिक्षा सर्वसुलभ र सहज हुनुपर्नेजस्ता शैक्षिक मुद्दा अघि सारेको छ ।

त्यस्तै १७ बुँदो प्रतिबद्धता पत्र सार्वजनिक गर्दै उसले आफ्नो संगठनलाई जिताइए विश्व विद्यालय र क्याम्पसमा राजनीतिक भागबन्डाको अन्त्य गर्ने, ट्रान्सक्रिप्टलगायतका प्रमाणपत्र सम्बन्धित क्याम्पसबाटै दिलाइने प्रतिबद्धता जनाएको छ ।

यसैगरी आगामी २ वर्षका लागि अनेरास्ववियूले नेतृत्वसहित २४ वटा नारा अघि सारेको छ । शैक्षिक संस्थामा नोलाइन–सबै काम गरौं अनलाइन, शिक्षामा छोरी बुहारी– राज्यको प्रमुख जिम्मेवारी, शिक्षामा सबैको अधिकार– धनी–गरिब बराबर लगायत नारा संगठनले अघि सारेको छ ।