बीस वर्ष पुगेपछि विवाह गरे दश हजार पुरस्कार

मान्म । कालीकोटको शुभकालिका गाउँपालिका– ७ ले उमेर पुगेर विवाह गर्ने महिलालाई जनही १० हजार पुरस्कार दिने निर्णय गरेको छ । यही चैत १ गतेबाट लागू हुने गरी २० वर्ष उमेर पुगेपछि विवाह गर्ने महिलालाई १० हजार दिने निर्णय गरेको हो ।
बालविवाहका घटना बढ्दै जान थालेकाले त्यसलाई रोकथाम गर्ने उद्देश्यले २० वर्ष उमेर पुगेपछि विवाह गर्ने महिलालाई पुरस्कार दिने निर्णय गरिएको वडाध्यक्ष प्रेमबहादुर शाहीले बताए ।
उनले वडाका कसैले विवाह गरेमा वडा कार्यालयको सिफारिस लिनुपर्ने भन्दै बालविवाह रोक्न यस्तो नीति लिइएको बताए । वडाका कुनै पनि महिला र पुरुषले अन्य कुनै वडा वा जिल्लाबाट विवाह गर्नुपरेमा उमेर खुलेको प्रमाणपत्रसहित वडाबाट अनिवार्य सिफारिस लिनुपर्ने नियम बनेको वडाध्यक्ष शाहीले जानकारी दिए । ‘कसैले सिफारिस नलिई विवाह गरेमा वडाबाट प्रदान गरिने सबै सेवा सुविधा बन्द गर्ने निर्णय भएको छ’, उनले भने ।
उमेर नपुगेको पाइएमा कानुनअनुसार कारबाहीका लागि वडाले नियम बनाउन लागेको गाउँपालिका उपाध्यक्ष धर्मा शाहीले बताए । ‘यसभन्दा अघि शुभकालीका–४ ले वडाको सिफारिसबिना विवाह गर्न नपाइने र गरिहालेमा केही सेवाबाट वञ्चित गर्ने निर्णय गरेको थियो ।’ उनले भने, ‘अब यो नियम पालिकाभरी लागू हुनेगरी बनाउँदै छौँ ।’
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया