खेलकुदमय छापा, कसले के लेखे ?

काठमाडौं । संघीय राजधानी काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरूको आजको प्राथमिकतामा खेलकुद विषय परेको छ । पहिलो पृष्ठ खेलकुदमय बन्दा राजनीतिकलगायत विषय छायामा परेका छन् । केहीले यो खुसीलाई ब्यानर समाचार बनाएर साटेका छन् ।
बिहीबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सम्पन्न आइसिसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा युएईलाई ९ रनले पराजित गर्दै नेपालले ऐतिहासिक जित दर्ज गरेको हो । योसँगै नेपालको विश्वकप यात्रा तय भएको छ ।
कान्तिपुरले आज रंगशालामा देखिएको उत्साहको तस्बिरसँगै ‘खेलाडीको लगन, दर्शकको सम्होहन’ शीर्षकमा नेपालले क्रिकेटमा हासिल गरेको उपलब्धिलाई पहिलो पृष्ठमा विशेष ‘कभरेज’ गरेको छ ।
‘नेपाली क्रिकेटले हात पारेको यो यस्तो सफलता हो, जसमा टेकेर कसैले पनि भन्न सक्नेछ, हामी पनि सक्छौं,’ कान्तिपुर समाचारको लिड लाइनमा लेखिएको छ ।
मुख्य समाचारसँगै सम्पादकीयको विषय पनि कान्तिपुरले क्रिकेटलाई नै बनाएको छ । क्रिकेटले चाँदीको घेरा देखाएकाले त्यसलाई बादलमा हराउन दिन नहुने सम्पादकीय सार छ ।
नयाँ पत्रिकाले ‘विश्वकप यात्रामा नेपाल’ दिएर ब्यानर न्युज बनाएको छ । समाचारअनुसार यो ऐतिहासिक सफलतासँगै नेपालले अब १८ जुनदेखि जिम्बावेमा हुने विश्वकप छनोटमा टेस्ट राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्नेछ ।
गोरखापत्र, राजधानी, अन्नपूर्णलगायत पत्रिकाले पनि नेपालको यो सफलतालाई प्राथमिकतापूर्वक पहिलो पृष्ठमा स्थान दिएका छन् ।
हेर्नुहोस् आजका पत्रपत्रिका
प्रतिक्रिया