NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

डिजिटल बैंकिङमा ग्लोबल आइएमई : मिस्डकलदेखि भाइबर बैंकिङसम्म

काठमाडौं । ग्लोबल आइएमई बैंक आकारको हिसाबले र वित्तीय सूचकको हिसाबले ठूलो वाणिज्य बैंक हो । बैंक अफ काठमाण्डुसँग मर्जरमा गएसँगै यो देशकै ठूलो वाणिज्य बैंक बनेको छ ।

बैंकका अनुसार कुल पुँजी, निक्षेप, कर्जा, शाखासञ्चालनलगायतको आधारमा ग्लोबल आइएमई देशकै ठूलो वाणिज्य बैंक हो । मूलुकका सबै क्षेत्रमा सबै नागरिकलाई, सानादेखि ठूलासम्म वित्तीय क्षेत्रमा रचानात्मक र गुणात्मक परिवर्तन ल्याउने लक्ष्य ग्लोबल आइएमई बैंकले लिएको छ । ‘सबैका लागि बैंक’ भन्ने नाराका साथ बैंकले समयसापेक्ष ग्राहकमाझ विभिन्न सेवाहरु प्रदान गर्दै आएको छ ।

वर्तमान समय डिजिटल युगको समय हो । अहिले हरेक मानिस प्रविधिमा निर्भर हुन थालेका छन् । नयाँ नयाँ प्रविधिको विकास भएसँगै अब मानिस प्रविधिकै प्रयोग गरी कामलाई थप छिटो छरितो र झन्झटमुक्त हुन चाहान्छन् । प्रविधिको विकास तीव्र रुपमा बढ्दै गएसँगै व्यापार, व्यवसाय गर्ने कम्पनीदेखि सेवा प्रदान गर्ने संस्थालाई यसको प्रयोग गर्नमा थप चुनौती थपेको छ ।

अबका कम्पनी संघसंस्थाहरु अनिवार्य रुपमा प्रविधिमा जोडिनुपर्ने परिस्थिति सिर्जना भइसकेको छ । ग्लोबल आइएमई बैंकले पनि प्रविधिलाई पछ्याउँदै समयसापेक्ष कम्पनीका सेवाहरुलाई प्रविधिमैत्री बनाउँदै गएको बैंकले जनाएको छ ।

बैंकले डिजिटल च्यानल बढीभन्दा बढी प्रयोग गरोस् भन्ने उद्देश्यले विभिन्न सचेतनाका कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको जनाएको  छ ।

बैंकले अनलाइनबाटै खाता खोल्ने सुविधादेखि, मोबाइल बैंकिङ,अनलाइनबाटै निक्षेप जम्माजस्ता सुविधा ग्राहकमाझ पस्किँदै आएको छ । जसकारण ग्राहकलाई बैंकसम्म धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

ग्लोबल आइएमईले प्रदान गर्दै आएका डिजिटल सुविधा

ग्लोबल स्मार्ट प्लस

बैंकले ग्राहकलाई नविनतम प्रविधिमा लैजाने उद्देश्यले मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ योजना सञ्चालन गरिरहेको छ । बैंकले ल्याएको यो योजना नयाँ योजना हो । यसभन्दा अघि ‘ग्लोबल स्मार्ट’ रहेकोमा एक वर्षअघि मात्रै ‘ग्लोबल स्मार्ट प्लस’मा स्तरोन्ति भएको हो । करिब १० वर्ष ‘ग्लोबल स्मार्ट’को सञ्चालनपछि बैंकले ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत ग्राहकलाई मोबाइल बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

ग्लोबल आईएमई बैंकमा खाता हुने ग्राहकले यो सुुविधा लिन सक्छन् । यसका लागि प्ले स्टोरबाट ‘ग्लोबल स्मार्ट प्लस’ डाउनलोड गरी प्राप्त निर्देशनहरु पालना गरी ग्राहक आफै मोबाइल बैंकिङ एप खोल्न सक्छन् ।

ग्लोबल आईएमईको ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोग गरी आफ्नो खाताको विवरण, ऋणसम्बन्धी विवरण, रकम ट्रान्सफर, बैंकका शाखा तथा एटीएमको स्थानलगायत सुविधा लिन सकिन्छ ।

यीबाहेक क्युआर कोडको प्रयोग गरेर फरक अकाउन्टमा पैसा ट्रान्सफर गर्न सकिन्छ । सिधै मोबाइल नम्बरबाट, र खाता नम्बर हालेर रकम ट्रान्सफरको सुविधा छ । कनेक्टआइपिएस इन्टर बैंक सुविधा यस एपमा लिंकअप गरिएको छ । जसको कारण कनेक्टआइपिएसबाट फण्ड ट्रान्सफर गर्न मिल्छ । मोबाइलबाटै बत्ती, हवाइ टिकेट, इन्टरनेट, डिम्याट, मेरो सेयर, पानी, स्कुल फिलगायतको बिल तिर्न सक्छन् ।

त्यसैगरी मोबाइल टपअप जस्तै एनटिसी प्रिपेड÷पोस्पेड, एनसेल प्रिपेड÷पोस्पेड, एनटिसी ल्याण्डलाइनलगायतमा रिचार्च गर्न सकिन्छ । इसेवा वालेटमा रकम ट्रान्सफरसमेत गर्न सक्नेलगायतका सुविधा यस एपमा रहेको छ ।

ग्लोबल अनलाइन इन्टरनेट बैंकिङ

ग्लोबल आइएमई बैंकले सञ्चालन गरिरहेको ग्लोबल अनलाइन पनि एक इन्टरनेट बैंकिङ योजना नै हो । ग्लोबल आइएमईको ग्लोबल अनलाइन प्रयोग गरी फण्ड ट्रान्सफर, कनेक्ट आइपिसएबाटै फरक बैंकमा रकम ट्रान्सफर, क्रेडिट कार्ड पेमेन्ट, ल्याण्डलाइन बिल पेमेन्ट, पोष्टपेट बिल पेमेन्ट गर्न सकिन्छ । यीबाहेक एनटिसी प्रिपेड÷पोस्पेड, एनसेल प्रिपेड÷पोस्पेड, एनटिसी ल्याण्डलाइनलगायतमा रिचार्च गर्न सक्ने सुविधा रहेको छ ।

यस्तै अनलाइनबाटै अकाउन्टबारे सम्र्पूण जानकारी लिन सकिने सुविधा रहेको बैंकले जनाएको छ ।

क्युआर कोड पेमेन्ट

पछिल्लो समय क्युआरकोडको प्रयोग ह्वातै बढेको छ । विश्वभर फैलिएको महामारी कोरोना भाइरसको जोखिमसँगै नेपालमा पनि क्युआर कोडको प्रयोग बढ्न थालेको हो । अहिले चियापसल, किरानपसल, सपिङ, होटललगायतका सबै क्षेत्रमा यसको प्रयोग हुन थालेको छ ।

बैंक तथा वित्तिय संस्थाले पछिल्लो समयमा यसको माग बढेसँगै क्युआरकोड सिस्टम समावेश गरेका छन् । बैंकले नेपालमा पहिलोपटक मोबाइल बैंकिङ च्यानल  ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत यो प्रविधि सञ्चालनमा ल्याएको हो । बैंकका ग्राहकले यो प्रविधिको प्रयोग गरी अर्थात क्युआर कोड स्क्यानिङ गरेर सजिलै अनलाइन भुक्तानी गर्न सक्नेछन् ।

अनलाइन फिक्सड डिपोजिट

अनलाइन फिक्सड डिपोजिट ग्लोबल आइएमइका ग्राहकले ग्लोबल अनलाइन इन्टरनेट बैंकिङमार्फत बैंकको शाखामा नगइकन जहासुकैबाट यो सुविधा प्रयोग रकम जम्मा गर्न सक्नेछन् । यो प्रविधिको सुविधा लिन भने ग्राहकले फिक्स डिपोजिट खाता खोलेको हुनुपर्छ भने अनलाइन इन्टरनेट बैंकिङ प्रयोग गर्नुपर्ने हुन्छ । अनलाइन फिक्स डिपोजिटमा १० हजारदेखि १० लाखसम्म रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ ।

यो सुविधाले ग्राहकलाई बैंकको शाखासम्म पुगेर लाइन बस्नुपर्ने झन्झबाट मुक्ति दिलाउनुको साथै समयको पनि बचत हुने बैंकको विश्वास रहेको छ ।

मिस्डकल बैंकिङ

ग्लोबल आइएमई बैंकमा ग्राहकले मिस्डकल बैंकिङको प्रयोग गरी आवश्यक विभिन्न बैंंकिङ सुविधा लिन सकिन्छ । बैंकले उपलब्ध गराएका फोन नम्बरमा मिस्डकल गरी आफूले चाहेको जानकारी लिन सकिने बैंकले जनाएको छ ।

ग्राहकले मिस्डकल बैकिङमार्फत खातामा रकमबारे जानकारी, बैंक स्टेटमेन्टबारे जानकारी,  उपलब्ध ऋण सुविधालगायतको जानकारी लिन सक्नेछन् ।

ब्यालेन्सबारे जानकारी लिनुपरेमा ग्राहकले ९८०१२३१२९४, स्टेटमेन्टबारे जानकारी लिनुपरेमा ९८०१२३१२९५ मा मिस्डकल गर्न सक्छन् । मिस्डकल गरेपछि बैंकले एसएमएसमार्फत सोको जानकारी ग्राहकलाई दिने छ ।

त्यस्तै ग्राहकले मोबाइलमा एक सय रुपैयाँसम्म ब्यालेन्स टप अप गर्नुपरेमा ९८०१२३१२९६ मा मिस्डकल गर्नुपर्ने हुन्छ । बैंकले प्रवाह गर्दै आएका ऋणको बारेमा बुझ्नुपरेमा भने ९८०१२३१२९९ मा मिस्डकल गर्नुपर्ने हुन्छ ।

भाइबार बैंकिङ

ग्लोबल आइएमईले दिँदै आएको नविनतम प्रविधिमध्ये भाइबर बैंकिङ पनि हो । भाइबार बैंकिङ डिजिटल प्रविधिमा आधारित एप  हो । जुन प्लेस्टोबाट सजिलै डाउनलोड गरेर चलाउन सकिन्छ । ग्राहकले भाइबार बैंकिङमार्फत बैंकसँग जोडिएर अन्तरक्रियामार्फत विभिन्न सेवासुविधाबारे जानकारी लिन सकिन्छ ।

ग्लोबल आइएमईको भाइबर बैंकिङमा विभिन्न सेवा र सुविधाबारे जस्तै सूचना, समचारलगायत जानकारी अपडेट भइरहेको हुन्छ । यसबाट ग्लोबलका सबै शाखा बैंकबारे जानकारी लिन सकिन्छ ।

त्यसैगरी बैंकका विभिन्न स्कीम, बैंकले सार्वजनिक गरेका नयाँ ब्याजदरबारे, बैंकले गरेका गतिविधिलगायत सम्पूर्ण जानकारी यसबाट पाउन सकिने बैंकले जनाएको छ ।

अनलाइन निवेदन

ग्लोबल आइएमई बैंकमा खाता खोल्न चाहने ग्राहकले बैंकको शाखामा नगई अनलाइनबाटै खाता खोल्न सक्ने सुविधा रहेको छ । ग्राहकले सो सुविधाको प्रयोग गरी अनलाइनबाटै खाता खोल्न सकिने छ ।

त्यस्तै अनलाइनबाटै क्रेडिट कार्डको निवेदन दिएर कार्ड कार्ड बनाउन सक्ने सुविधा ग्लोबल आइएमईले प्रदान गर्दै आएको छ । यसबाहेक अनलाइनबाटै ऋणको लागि आवेदन दिन सक्नेलगायतका सुविधा ग्राहकले लिन सक्नेछन् ।