NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

देशभर स्ववियु निर्वाचन जारी, विद्यार्थीमा देखियो रौनक

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत देशभर ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा आइतार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन जारी छ ।

करिब एक दशकपछि भएको स्ववियु निर्वाचनले विद्यार्थीहरूमा रौनक छाएको छ । प्रतिनिधि छनोटका लागि विद्यार्थी(मतदाता) बिहानैदेखि लाइनमा बसेका छन् ।

मतदान विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म रहने स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सचिव एवं प्राध्यापक पशुपति अधिकारीले जानकारी दिए ।

त्रिविले यसअघि पटकपटक निर्वाचन घोषणा गरे पनि विद्यार्थी सङ्गठनबीच भएको विवादले निर्वाचन हुन सकेको थिएन । प्रत्येक दुई÷दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ यता नियमित हुनसकेको छैन । ०६५ पछि एकैपटक २०७३ चैत मा स्ववियु निर्वाचन भएको थियो । निर्वाचनमा देशभरका ६२ आंगिक क्याम्पसमा १ लाख ६२ हजार विद्यार्थी मतदाता छन् ।

काठमाडौं उपत्यकाका २२ आंगिक क्याम्पसमा ६६ हजार ६ सय ४६ र उपत्यका बाहिरका ४० क्याम्पसमा ९६ हजार चार सय ३६ विद्यार्थी स्ववियु निर्वाचनमा मतदाता रहेका छन् । यसैगरी त्रिविका ५ सय २३ सामुदायिक क्याम्पसमध्ये अधिकांशमा स्ववियु निर्वाचन भइरहेको छ ।

निर्देशक अधिकारीले सबैभन्दा धेरै विद्यार्थी पोखराको पृथ्वीनारायण बहुमुखी क्याम्पसमा १० हजार ८ सय ७० विद्यार्थी स्ववियु निर्वाचनमा सहभागी हुने बताए ।

अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने छन् ।

चुनावी मैदानमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायत राजनीतिक पार्टी निकटका विद्यार्थी संगठनले प्यानल बनाएर उम्मेदवारी दिएका छन् । एमाले निकट अनेरास्ववियुले आवश्यकत हेरी अखिल क्रान्तिकारीसँग समेत चुनावी तालमेल गरेको छ ।