NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

स्ववियु निर्वाचन : उपत्यकाका आंगिक क्याम्पसमा कसले मारे बाजी ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अन्तर्गत काठमाडौं उपत्याकाका आंगिक तथा सम्वन्धन प्राप्त क्याम्पसहरूको नतिजा आउने क्रम जारी छ । आइतबार भएको निर्वाचनमा २२ आंगिक क्याम्पसमध्ये १४ क्याम्पसमा निर्वाचन भएको थियो ।

तीमध्ये आर्युवेद क्याम्पस, त्रिचन्द्र बहुमुखी क्याम्पस, पाटन संयुक्त क्याम्पस, अमृत साइन्स क्याम्पस, नेपाल कमर्श क्याम्पस मीनभवन, विश्वभाषा क्याम्पस र रत्नराज्यलक्ष्मी क्याम्पस मा विवादका कारण निर्वाचन स्थगित भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले जनाएको छ ।

सोमबार बिहानसम्म ९ वटा आंगिक क्याम्पसको नतिजा सार्वजनिक भइसकेको छ । ९ वटा क्याम्पसमध्ये ४ वटामा एमाले निकट अनेरास्ववियुले बाजी मारेका छन् । चार वटा क्याम्पसमा कांग्रेस निकट नेविसंघ विजयी हुँदा एउटामा मात्र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी विजयी भएका छन् ।

कुन क्याम्पसमा कसले मारे बाजी ?

ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसमा नेकपा एमाले निकट अनेरास्वियुका विराज अर्याल सभापतिमा विजयी भएका छन् । अर्यालले ६३५ मत ल्याइ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी अखिल क्रान्तिकारीका अजयकुमार मण्डलले ६०५ मत पाए ।

त्यस्तै त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नेपाल विद्यार्थी संघका श्यामराज ओझा विजयी भएका छन् । ओझा ३३१ मतान्तरले विजयी भएका हुन् । उनले ९६२ मत पाए । उनका प्रतिस्पर्धी अनेरास्ववियुका उम्मेदवार प्रकाश विष्टले ६३१ मत पाए ।

यसैगरी काठमाडौंको थापाथली इन्जिनियरिङ क्याम्पसमा नेविसंघका पुष्कर विक्रम शाही ६१९ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका प्रविन थापाले ३७६ मत पाए ।

प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका विष्णु ढुंगेल ५२ मतले विजयी भएका छन् । ढुंगेलले ५९१ मत प्राप्त गर्दा उनको प्रतिस्पर्धी तामाङले ५३९ मत पाए ।

त्यस्तै बागबजारस्थित पद्मकन्या क्याम्पसको स्ववियु चुनावमा नेविसंघको प्यानल नै विजयी भएको छ । सभापतिमा ज्योति पनेरुले अखिल क्रान्तिकारीका त्रिसना आले मगरलाई पराजित गरेका हुन् ।

यसैगरी महाराजगन्ज नर्सिङ क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुकी नोविना बस्नेत नेतृत्वको प्यानल नै विजयी भएको छ । सभापतिमा बस्नेतले २१७ मत प्राप्त गरिन् भने उनकी प्रतिस्पर्धी नेविसंघकी उम्मेदवार धनुष विश्वकर्माले १३३ मत ल्याइन् ।
महेन्द्ररत्न क्यापस ताहाचलमा सभापतिमा अनेरास्ववियुका ईश्वर थापा निर्वाचित भएका छन् ।

शंकरदेव क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका सुशान्त बस्नेत विजयी भएका छन् । बस्नेतले अनेरास्ववियुका मुना तिवारीलाई पराजित गरेका हुन् ।

त्यस्तै त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) महाराजगन्ज मेडिकल क्याम्पसमा आनन्दकुमार सिंह नेतृत्वको अनेरास्ववियुको प्यानल नै विजयी भएका छन् । सभापतिमा सिंहले ५८६ मत प्राप्त गरे । उनकी प्रतिस्पर्धी रहेकी नेविसंघकी उम्मेदवार अविशिखा न्यौपानेले ५८४ मत ल्याइन् ।