प्रजनन केन्द्रमा हुर्काइएका एक सय ५० गोही राप्ती नदीमा छाडियो
चितवन । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका एक सय ५० घडियाल गोही राप्ती नदीमा छाडिएका छन् । पाँच वर्ष उमेर पुगेका गोहीलाई नदीमा छाडिएको हो ।
यसै आर्थिक वर्ष थप २० गोही नदीमा छाडिँदै छ । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार पाँच वर्ष उमेर र एक दशमलव पाँच मिटर लम्बाइ भएपछि गोहीलाई नदीमा छाड्ने गरिएको छ । यस वर्ष राप्ती नदीमा सौराहाघाटबाट ६०, कसराघाटबाट ७० र खगेन्द्रमल्ली नजिकैबाट २० गोही नदीमा छाडिएको हो । ती गोहीलाई यस आवको विभिन्न समयमा छाडिएको हो । उनले भने, ‘थप २० गोही छाड्न मिल्ने अवस्थामा छन्, हामी केही दिनमा छाड्छौँ ।’
गत आवमा एक सय सात गोही नदीमा छाडिएको थियो । प्रजनन केन्द्रमा हुर्काएर हालसम्म एक हजार आठ सय ४२ गोही नदीमा छाडिसकिएको छ । सन् १९७८ मा केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो । प्रजनन केन्द्रमा हुर्काएर राप्ती, नारायणी, कालीगण्डकी, सप्तकोशी, कर्णाली र बबईमा गोही छाडिँदै आएको छ ।
हालसम्म सबैभन्दा बढी राप्ती नदीमा छाडिएको छ । नेपालमा धेरै गोही पाउने नदीमा राप्ती पर्दछ । चैत–वैशाख महिनामा नदी किनारमा गोहीले पारेका अण्डा संकलन गरेर कसरामा रहेको प्रजनन केन्द्रमा कोरलेर बच्चा हुर्काउने गरिन्छ । हाल प्रजनन केन्द्रमा सात सयभन्दा बढी विभिन्न उमेरका गोही रहेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया