NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

रोनाल्डोले रचे इतिहास

पोर्चुगलका दिग्गज फरवार्ड क्रिस्टियानो रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै क्याप गर्ने खेलाडी बनेका छन् । कुवेतका बद्र अल मुतवालाई पछि पार्दै रोनाल्डोले कीर्तिमान बनाएका हुन् ।

युरो कप छनोटअन्तर्गत भएको खेलमा पोर्चुगलले लिक्टेनस्टाइनलाई ४–० ले हराएको छ । यो खेलमा रोनाल्डोले दुई गोल गरे  ।  ५१ औं मिनेटमा पेनाल्टीमा पहिलो गोल गरेका  रोनाल्डोले त्यसपछि  ६३ औं मिनेटमा फ्रिकिकमा अर्को गोल गरे । पोर्चुगलका लागि कप्तान रोनाल्डोका अलावा जोआओ क्यान्सेलो ८ औं मिनेट र बर्नार्डो सिल्भाले ४७ औं मिनेटमा गोल गरे ।

यो पोर्चुगलका लागि रोनाल्डोको १९७ औं अन्तर्राष्ट्रिय खेल थियो। योसँगै उनले कुवेतका लागि १९६ खेल खेलेका बद्र अल मुतवालाई पछि पारेका छन् ।

गत वर्ष कतार विश्वकपमा पूर्व प्रशिक्षक फर्नान्डो सान्तोसले ३८ वर्षीय रोनाल्डोलाई नकआउट खेलका लागि प्लेइङ ११ मा समावेश नगरेकोमा आलोचनाको सामना गर्नु परेको थियो । कतार विश्वकपको क्वाटरफाइनलमा मोरक्कोसँग पराजित भएको थियो । मोरक्कोसँगको हारपछि रोनाल्डोले मैदान छाडेका थिए । त्यसपछि राष्ट्रिय टिममा उनको पुनरागमनलाई लिएर शंका उत्पन्न भएको थियो ।