NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

उत्तर कोरियाद्वारा पानीमुनि ड्रोन परीक्षण, विज्ञ भन्छन्– दाबी सत्य भए ठूलो विनाश

काठमाडौं । उत्तर कोरियाले पानीमुनि ड्रोनको परीक्षण गरेको गरेको छ । उत्तर कोरियाको दाबीअनुसार यो ड्रोनमा ‘रेडियोएक्टिभ सुनामी’ फैलाउन सक्ने क्षमता छ ।

यो घातक हतियारको प्रक्षेपण उत्तर कोरियाली शासक किम जोङ उनको निगरानीमा भएको बताइएको छ ।

उत्तर कोरियाको आधिकारिक समाचार एजेन्सी केसीएनएले गत मंगलबार दक्षिण हमग्योङ प्रान्तको समुन्द्रमा यो गोप्य हतियार परीक्षण गरिएको जनाएको छ ।

रिपोर्टका अनुसार, ड्रोन ८० देखि १५० मिटरको गहिराइमा ५९ घण्टाभन्दा बढी समय सञ्चालन भएर पूर्वी तटमा विस्फोट भएको छ ।

तर विज्ञहरूले यसमा शंका गरेका छन् । उनीहरूले भनेका छन् नयाँ हतियारको क्षमताका सम्बन्धमा उत्तर कोरियाको दाबीमा सावधानी अपनाउनु पर्छ ।

यसैबीच, किम जोङ उनले यो हतियार अमेरिका र दक्षिण कोरियाका लागि चेतावनी भएको बताएका छन् ।

केसीएनएले ‘हायल’ नामको यो हतियारबाट शत्रूका जहाज र बन्दरगाहमा ठूलो मात्रामा रेडियोधर्मी तरंग छोड्न सकिने दाबी गरेको छ । यो अन्डरवाटर ड्रोन कुनै पनि तट र बन्दरगाह वा जहाजमा तैनाथ गर्न सकिन्छ।

यदि उत्तर कोरियाको यी दावीमा सत्यता छ भने, यो ड्रोनले ठूलो विनाश निम्त्याउन सक्छ।

कोरियाली प्रायद्वीपमा यतिबेला निकै तनाव छ । यसको मुख्य कारण अमेरिका र दक्षिण कोरियाबीच पछिल्लो पाँच वर्षमा भएको सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यास हो।

यसैबीच, दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले उत्तर कोरियाले आफ्नो लापरवाह उक्साहटको मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ ।