मन्त्रिपरिषद विस्तारबारे दलहरूबीच कसरत, प्रधानमन्त्रीले गरे देउवा र माधवसँग छलफल

काठमाडौं । मन्त्रिपरिषद विस्तारका लागि छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दल कांग्रेस र एकीकृत समाजवादीका शीर्ष नेताहरुसँग परामर्श गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान उनले कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग परामर्श गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले दुई दलका शीर्ष नेताहरूसँग मन्त्रालय बाँडफाँटबारे छलफल गरेको उनका सचिवालयले जनाएको छ । कांग्रेसले यसअघि एमालेले पाएको सबै मन्त्रालयमा दाबी गरेको छ ।
एकीकृत समाजवादीले कम्तीमा तीन वटा मन्त्रालय दाबी गरेको छ । चैत ६ गते प्रतिनिधिसभाबाट दोस्रोपटक विश्वासको मत पाएका प्रचण्डले सत्ता साझेदार दलहरूबीच सहमति गरेर आज नै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । ११ दलको समर्थनमा प्रधानमन्त्री भएका उनलाई मन्त्रालय भागबण्डामा सबै दललाई चित्त बुझाउन निकै कठिन रहेको छ ।
तीन दलको शीर्ष नेताहरूको बैठकले मन्त्रिपरिषद विस्तार बारे निर्णय लिन मंगलबार अपरान्ह ४ बजे सत्ता साझेदार १० दलको बैठक बस्ने सहमति गरेको छ । सोही बैठकले मन्त्रीपरिषद विस्तारको निर्णय लिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
ताजा अपडेट
-
ल्हेन्दे खोला बाढी: तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
-
भोटेकोशीको बाढी : त्रिशूली हुँदै बेनीघाटसम्म पुग्ने सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह
-
प्रचण्डद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
प्रतिक्रिया