NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

नेपाल एयरलाइन्सको नियमित मलेसिया उडान बन्द हुन सक्ने

काठमाडौं । नेपाल वायुसेवा निगमले मलेसियामा नियमित रूपमा गर्दै आएको उडान बन्द हुने अवस्थामा पुगेको छ ।

आउँदो एप्रिल महिनाभित्र उडान अनुमति नविकरण गर्नुपर्नेमा निगमले हालसम्म प्रक्रिया अघि बढाएको छैन । जसकारण नियमित मलेसिया उडान बन्द हुने अवस्था आउन सक्ने निगम स्रोतले बतायो ।

अन्तर्राष्ट्रिय उडानका लागि वायुसेवा कम्पनीहरूले लिएको ‘फरेन एयर अपरेटर सर्टिफिकेट’ वार्षिक रूपमा नवीकरण गर्नुपर्ने हुन्छ । तर मार्च महिना सकिन लाग्दासमेत अनुमतिपत्र नविकरणको प्रक्रिया अघि बढाइएको छैन ।

नवीकरणको प्रक्रिया समयमै अघि नबढाएपछि यतिबेला निगम व्यवस्थापनले मलेसियामा चार्टड उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ ।

प्राधिकरणले भने नियमित उडानको सम्भावना हुँदाहुँदै चार्टर उडानको अनुमति माग गरेपछि स्पष्टिकरण सोधेको छ ।

क्यानका महानिर्देशक प्रदीप अधिकारीले निगमले नियमित उडानका लागि मलेसियाको नागरिक उड्डयन प्राधिकरण समक्ष समयमै आवश्यक कागजात नबुझाउँदा उडानको अनुमति नपाएको जानकारी दिए । “निगमसमक्ष काठमाडौँ–मलेसियामा सातामा १४ वटासम्म उडान गर्ने सुविधा छ”, उनले भने, “तर निगमले हेलचेक्र्याई गरी पुरानो कागजात पठाएकाले उडान अनुमति पाएको छैन ।” निगमसँग सातामा सात वटा नियमित उडान गर्नसक्ने प्रावधान बाँकी रहँदा पनि चार्टर्ड उडान किन गर्नु परेको भन्दै स्पष्टीकरण सोधिएको उनको भनाइ छ ।

निगमका प्रवक्ता अर्चना खड्काले मलेसियाको नागरिक उड्डयन प्राधिकरण समक्ष ‘समर सेड्युल’का लागि मार्च २८ देखि उडान अनुमति माग गरेको छ । तर प्रक्रियामै रहेकाले अनुमति प्राप्त नभइसकेको उनको भनाइ छ ।

नेपाल र मलेसियाबीच सन् २०१५ अप्रिल ३ मा द्विपक्षीय हवाई सेवा सम्झौता भएको थियो । सोहीअनुसार नेपाली वायुसेवा कम्पनीले मलेसियामा सातामा २८ वटा उडान गर्न सक्छन् ।