NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

मन्त्रिपरिषद् विस्तारमा किन पर्यो गाँठो ?

काठमाडौं । मन्त्रिपरिषद् विस्तारको गृहकार्यमा लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बसेको सत्तागठबन्धनको बैठकमा मन्त्रालय बाँडफाँटको प्रस्ताव गरेका छन् । उनले गरेको प्रस्तावमा केही दलले चित्त नबुझाएकाले सहमति जुटाउन बुधबार बिहान पुनः बैठक बस्दै छ ।

बैठकमा प्रधानमन्त्रीले गठबन्धनको ठूलो दल कांग्रेसलाई आठ, माओवादीलाई पाँच, राष्ट्रिय स्वतन्त्र पार्टीलाई तीन, एकीकृत समाजवादी र जसपालाई दुई–दुई मन्त्रालय रहने गरी प्रस्ताव गरेका छन् । यसबाहेक जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति र स्वतन्त्रबाट एक–एक मन्त्री बनाउने प्रधानमन्त्रीको प्रस्तावमा छ ।

नेताहरूसँग छलफल गरेर मन्त्रालय बाँडफाँटको प्रस्ताव बनाउन गठबन्धनका नेताहरूले प्रधानमन्त्रीलाई जिम्मा दिएका थिए । त्यसपछि प्रधानमन्त्रीले गठबन्धनमा रहेका सबै दलका नेताहरूसँग छुट्टाछुट्टै छलफल गरेर मन्त्रालय बाँडफाँटसम्बन्धी प्रस्ताव तयार पारेका थिए । सोही प्रस्ताव मंगलबार गठबन्धनको बैठकमा पेस गरेका हुन् ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूले सबै दलसँग छुट्टाछुट्टै छलफल गरेर प्रस्ताव तयार पारेको बताएका थिए । ‘दलहरूसँगको छलफलका आधारमा प्रस्ताव तयार पारेको छु । यसमा छलफल गरेर अघि बढौँ,’ प्रधानमन्त्रीले मन्त्रालय बाँडफाँटको प्रस्ताव गर्दै बैठकमा भनेका थिए ।

बैठकमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्रीले रास्वपा तत्काल सरकारमा सहभागी नभए पनि उसका लागि मन्त्रालय छुट्याउनुपर्ने बताएका थिए । रास्वपा मंगलबार गठबन्धनको बैठकमा सहभागी थिएन । रास्वपा सभापति रवि लामिछानेले गठबन्धनको बैठकअघि प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका थिए ।

दलहरूका दाबी स्वाभाविक भए पनि सबैलाई मिलाउनुपर्ने र संवैधानिक व्यवस्थाका २५ सदस्यीयभन्दा बढी मन्त्रिपरिषद् बनाउन नपाइने भएकाले बाध्यता बुझिदिन आग्रह गरेका थिए । दलहरूले दाबी छाडिसकेका छैनन् । कांग्रेसले नौ मन्त्रालयमा दाबी गरेको छ । एकीकृत समाजवादी र जसपाले तीन–तीन मन्त्रालय पाउनुपर्ने दाबी गरेका छन् । जनमत र लोसपाले थप एक–एक राज्यमन्त्री पाउनुपर्ने दाबी गरेका छन् ।

दलले अडान नछाडेपछि आन्तरिक छलफल गरेर बुधबार पुनः बस्ने गरी मंगलबारको बैठक सकिएको छ । संघीय मन्त्रिपरिषद् बढीमा २५ सदस्यीय हुने संवैधानिक व्यवस्था छ ।

माओवादी महासचिव देव गुरुङले मन्त्रिपरिषद् विस्तारको विषयमा मोटामोटी छलफल भएको बताए । ‘मन्त्रिपरिषद् विस्तारको विषयले गठबन्धनको बैठकमा प्रवेश पाएको छ । आज मोटामोटी छलफल भयो । भोलि टुंग्याउने कुरा छ,’ गुरुङले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।