NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

जग्गाको कित्ताकाट गर्न घुस माग्ने दुईजना अख्तियारको फन्दामा

काठमाडौं । मनमैंजुस्थित नापी कार्यालयमा कार्यरत दुईजनालाई घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको छ ।

नापी कार्यालयका सर्भेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अभिशेक कार्कीलाई टंगालबाट खटिएको आयोगको टोलीले एक लाख ७५ हजार रूपैयाँ घुस लिँदै गरेको अवस्थामा मंगलबार फेला पारेको हो ।

आयोगको टोलीले थप खानतलासी गर्दा उनीहरूबाट स्रोत नखुलेको सात लाख ६९ हजार पाँच सय रूपैयाँ र कार्कीको नाममा काटिएको १६ लाख रूपैयाँको तीन थान चेक भेटेको छ । योसँगै सर्भेक्षक उपरकोटीसँग पनि स्रोत नखुलेको एक लाख ८५ हजार तीन सय ८८ रूपैयाँ फेला परेको छ ।

उनीहरूलाई आयोगले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ । सेवाग्रहीसँग घुस मागिरहेको भन्ने उजुरीका आधारमा आयोगले अनुसन्धान गरेको थियो ।