NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

भीम रावल नसच्चिए पार्टीले ठेगान लगाउने उपाध्यक्ष पौडेलको चेतावनी

काठमाडौं । एमालेका उपाध्यक्ष विष्णु पौडेलले पूर्वउपाध्यक्ष भीम रावलले पार्टी नेतृत्वविरुद्ध विष बमन गरेको भन्दै आत्मा आलोचना गरेर असल नेता बन्न सुझाव दिएका छन् ।

रावलले चितवन महाधिवेशनबाट निर्वाचित पार्टी नेतृत्वविरुद्ध एकपछि अर्को काम गर्दै आएको आरोप लगाएका हुन् । शुक्रबार प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा रावलले पार्टी हितविपरीत नेतृत्वविरुद्ध अभिव्यक्ति दिन नछाडे ठेगान लगाउने चेतावनी दिएका हुन् ।

‘भीम रावलजीले पार्टीको निर्णय मान्नुभएको छैन । अनुशासन उल्लङ्घन गर्नुभएको छ । पार्टी निर्णयविरुद्ध सार्वजनिक रुपमा बोल्नुभएको छ । पार्टीलाई कमजोर पार्ने गतिविधि भइरहेका छन्,’ उनले भने, ‘कमरेड भीम रावलले आफ्ना गल्ती स्वीकार गर्नुस्, आत्मालोचना गर्नुस् । उहाँ नसचिए पार्टीले उचित निर्णय लिन्छ ।’

गतवर्ष चितवनको सौराहामा भएको १० औं माहाधिवेशनमा अध्यक्ष केपी ओलीविरुद्ध उम्मेदवारी दिएका रावलले त्यसयता नेतृत्वविरुद्ध सामाजिक सञ्जाल, मिडिया र सार्वजनिक मञ्चबाट आफ्ना धारणा सार्वजनिक गर्दै आएका छन् ।

मंसिरमा भएको प्रतिनिधिसभा सदस्यका लागि अछाम–१ बाट सर्वसम्मत उम्मेदवार छनोट भएका रावलको टिकट खोसेर ओलीले झपट बोहरालाई दिएका थिए । ओलीको उक्त निर्णयबाट रावलले तिव्र असन्तुष्टी जनाएका थिए ।